नयाँदिल्ली । भारतमा आमाबुबाले अनिच्छापूर्वक जन्माएका छोरीहरूको संख्या २ करोड १० लाख रहेको एउटा सरकारी प्रतिवेदनले देखाएको छ । अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएका थिए । लेखकहरूले लिंग पहिचान गरी गर्भपतन गराउनेभन्दा छोराको जन्मलाई महत्व दिने प्रचलन रहेको उल्लेख गर्दै त्यसले बालिकाका लागि कम स्रोतसाधन उपलब्ध हुने चेतावनी दिएका छन् ।
उनीहरूले भनेका छन्, ‘छोराको जन्मलाई महत्व दिने मान्यताबारे भारतीय समाजले गम्भीर रूपमा विचार गर्नुपर्छ ।’ लेखकहरूले भनेका छन्, ‘भारतमा ६ करोड ३० लाख महिलाहरू देशको जनसंख्याबाट ‘बेपत्ता’ भएका छन् ।’ उनीहरूका अनुसार लिंग पहिचान गरेर गर्भपतन गराउने प्रवृत्ति र छोरालाई बढी उपलब्ध गराइने स्याहारसुसारले यस्तो अवस्था आएको हो । भारतमा भ्रुणको लिंग पहिचानलाई गैरकानुनी मानिन्छ ।
तैपनि, त्यस्तो जाँच गराइन्छ र कतिपय अवस्थामा गर्भपतनसमेत गर्ने गरिन्छ । छोरी नभई छोरामा हुने सम्पत्ति हस्तान्तरण, विवाहका क्रममा छोरीलाई दाइजो दिनुपर्ने र दुलही दुलाहाको घर जानुपर्ने प्रचलनसहितका कारण भारतमा छोरालाई प्राथमिकता दिने गरिन्छ । सांस्कृतिक रूपमा छोरालाई बढी महत्व दिइएका कारणले एउटा भारतीय समाचारपत्रले वैज्ञानिक रूपमा प्रमाणित नभएका छोरा जन्माउने उपायहरूको सूचीसमेत प्रकाशन गरेको थियो ।
त्यसमा पश्चिम फर्किएर सुत्नुपर्ने र साताका विशेष दिनमा मात्रै यौनसम्पर्क गर्नुपर्नेजस्ता बुँदा समेटिएका थिए । छोराको मोहबाट सबैभन्दा बढी प्रभावित राज्यहरूमा पञ्जाब र हरियाणा छन् भने सबैभन्दा कम प्रभावितचाहिँ मेघालय रहेको छ । पञ्जाब र हरियाणामा सात वर्षमुनिका एक हजार बालिका हुँदा सोही उमेर समूहका बालकको संख्या भने १ हजार २ सय रहेको उक्त आर्थिक सर्वेक्षणका लेखकहरूले जनाएका छन् ।
प्रतिक्रिया