काठमाडौं । ब्रिटिस काउन्सिलले लिने ‘इन्टरनेसनल इंग्लिस ल्याग्वेज टेस्ट्रिङ सिस्टम’ (आइइएलटिएस) परीक्षामा सेटिङमा प्रश्नपत्र विक्री हुने गरेको तथ्य फेला परेको छ । प्रश्नपत्र विक्रीमा पैसाको ठूलो चलखेल हुने गरेको पाइएको हो । ब्रिटिस काउन्सिलका कर्मचारीको मिलेमतोमा परीक्षाको अघिल्लो दिन प्रश्नपत्र आउट गर्ने र विद्यार्थीलाई विक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबारका लागि तय भएको आइईएलटिएस परीक्षाको प्रश्नपत्र प्रहरीले शुक्रबार राति नै सुन्धारास्थित एउटा गेस्ट हाउसबाट बरामद गरेको छ । शुक्रबार भेटिएका प्रश्नपत्र र शनिबार परीक्षामा सोधिएका प्रश्नहरू एउटै भएपछि प्रहरीले अनुसन्धानको दायरा अझै फराकिलो बनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राति प्रश्नपत्र लिक गराउने गिरोह र प्रश्नपत्र किन्दै गरेका विद्यार्थीलाई राजधानीको एक गेस्ट हाउसबाट प्रक्राउ गरेपछि यो तथ्य खुलेको हो । प्रहरीले सो प्रकरणमा जोडिएका एक दर्जन बढीलाई प्रक्राउ गरे पनि अहिलेसम्म चार जनाको संलग्नता खुलेको छ । परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामदत्त जोशीका अनुसार विद्यार्थीले दिएको उजुरीका आधारमा गेस्ट हाउसमा छापा मारी १३ जना प्रक्राउ परेको जानकारी दिए । उनले भने, ‘उजुरीका आधारमा शुक्रबार राति १३ जनालाई प्रक्राउ गरेका छौँ, उनीहरूमध्ये अहिलेसम्म ४ जना संलग्न रहेको पाइएको छ, बाँकीमाथि अनुसन्धान जारी छ ।’ जोशीले आइतबारसम्म सबै सत्यतथ्य बाहिर आउने जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार अहिले सम्मको अनुसन्धानमा आइइएलटिएस परीक्षा पास गर्न चाहने विद्यार्थीसँग पैसा लिएर काउन्सिलकै कर्मचारीले उनीहरूलाई पास गराउने गरेको खुलेको छ । परीक्षाअघि नै विद्यार्थीलाई प्रश्नपत्र विक्री गर्ने काममा काउन्सिलकै कर्मचारीको मिलेमतो रहेको देखिएको स्रोतको दाबी छ । एजुकेसन कन्सल्टेन्सी सञ्चालकसँगको मिलेमतोमा काउन्सिलका कर्मचारी प्रश्नपत्र विक्रीमा संलग्न रहेको स्रोतको भनाइ छ ।
काउन्सिलका कर्मचारीले एक जनालाई प्रश्नपत्र विक्री गरेको डेढदेखि २ लाख ५० हजारसम्म लिने गरेका छन् । लामो समयदेखि पैसा लिएर प्रश्नपत्र विक्री गर्दै आएका र आपूmलाई काउन्सिलको कर्मचारीसमेत बताउने पक्राउ परेका सुरज तामाङले काउन्सिलबाटै प्रश्नपत्र विक्री हुने गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा जानकारी दिएको प्रहरी स्रोतको भनाइ छ । नेपालमा रहेको ब्रिटिस काउन्सिलबाट मात्र नभएर विदेशका काउन्सिलबाटसमेत नेपाली विद्यार्थीलाई प्रश्नपत्र विक्री हुने स्रोतको दाबी छ ।
मुख्य योजनाकार कन्सलटेन्सी सञ्चालक
ब्रिटिस काउन्सिलका प्रश्न बेच्नेमा राजधानीका एजुकेसन कन्सलटेन्सी पहिलो नम्बरमा पर्दछन् । काउन्सिलका कर्मचारीसँग सेटिङमा प्रश्नपत्र किन्ने र विद्यार्थीलाई बेच्ने काममा कन्सल्टेन्सी सञ्चालकको मुख्य भूमिका देखिएको छ, स्रोतले भन्यो केही कन्सल्टेन्सीको पहिचान भइसकेको छ, हामी प्रमाण जुटाउने काममा छौँ ।’
कन्सलटेन्सीले विद्यार्थीलाई प्रश्नपत्र दिलाइदिने भन्दै सुरुमै सेटिङ मिलाउने र विद्यार्थीसँग मोटो रकम लिने गरेको प्रहरीको भनाइ छ । जसमध्ये केही कन्सलटेन्सी सञ्चालकसमेत समातिएका छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको र अझै केही मुछिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
कन्सलटेन्सी पुग्ने विद्यार्थीलाई सञ्चालकले गिरोहसम्म पु¥याउने र त्यहाँ पुगेपछि प्रश्नपत्रको मोलमोलाई हुने गर्दछ । प्रश्नपत्र खरिद गर्ने रकम पाएपछि गिरोहले भाइबरबाट प्रश्नपत्र विद्यार्थीलाई पठाउने गरेको प्रहरीले जनाएको छ ।
प्रक्राउ गर्ने क्रममा लिक गरिएको प्रश्न र त्यसबापत लेनदेन भएको पैसासमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका एक एजेन्टले आधा दर्जन विद्यार्थीसँग करिब चार लाख रुपैयाँभन्दा बढी उठाएर मुख्य एजेन्टलाई दिँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशमा जानुअघि विद्यार्थीले यस्तो परीक्षा पास गर्नुपर्ने हुन्छ । आइइएलटिएसमा ६ दशमलव ५ भन्दा बढी अंक ल्याएमा भिसा लाग्ने सम्भावना बढी हुने गर्दछ ।
प्रतिक्रिया