अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं : आफ्नै कार्यसमितिका दुई तिहाइ बहुमत सदस्यले अविश्वासको प्रस्ताव प्रस्तुत गरेपछि चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङको पद धरापमा परेको छ ।
शनिबार बसेको संघको बैठकले यस्तो प्रस्ताव पारित गरेको महासचिव अनन्त तिमल्सिनाले बताए । पदमा रहँदा आर्थिक हिनामिना गरेको आरोप सन्तुमाथि छ । महासचिव तिमल्सेनाका अनुसार सन्तुले करिब ४० हजार रुपियाँ बराबरको हिनामिना गरेका छन् । सन्तु दुई कार्यकालदेखि संघको अध्यक्ष रहँदै आएका छन् । तिमल्सिनाले भने– ‘उहाँलाई बारम्बार उक्त हिसाब क्लियर गर्न भनिए पनि उहाँले टेर्नुभएन । बरु उल्टै गैरजिम्मेवार ढंगले म तिर्दिनँ, जे गर्नु छ गर भन्न थालेपछि बाध्य भएर हामीले यो कदम चालेका हौँ ।’
उनका अनुसार अब आगामी साउन ३० गते बोलाइने संघको साधारणसभाले सन्तुलाई राख्ने वा निलम्बन गर्ने निर्णय गर्नेछ ।
सन्तुले भने आरोप लगाइएजति रकम हिनामिना नभएको दाबी गरेका छन् । लगातारको बन्दका कारण पछिल्लोचोटि गरिएको फिल्मी अवार्डको केही हिसाबकिताब क्लियर हुन बाँकी रहेको र त्यो चाँडै क्लियर गर्ने तयारीमा आफू रहेको उनले बताए । उनले भने, ‘लगभग २२ देखि २५ हजार रुपियाँसम्मको हिसाब नमिलेको हो, बन्द खुल्नासाथ त्यो सबै क्लियर गरिदिनेवाला थिएँ ।’ साथै सन्तुले शनिबार बसेको बैठकको उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेको जानकारी गराए । (सौस)

प्रतिक्रिया