माङसेबुङको केन्द्र चतुरे पारित

राम योङहाङ

इलाम । इलामको माङसेबुङ गाउँपालिकाको केन्द्र जनप्रतिनिधिको बहुमतले ‘चतुरे’ बजार कायम भएको छ । लामो समयको विवादपछि मंगलबारको विशेष गाउँसभामा कायम रहेको सदस्य संख्याको बहमुतबाट सेवाकेन्द्र ‘चतुरे’ प्रस्ताव पारित गरेको हो । गाउँसभाका ३२ सदस्यमध्ये १८ मत वडा नम्बर ३ मा पर्ने ‘चतुरे’ को पक्षमा परेको थियो । त्यस्तै १४ मत वडा नम्बर २ मा पर्ने ‘साविक इभाङ’ को पक्षमा परेको थियो ।

६ वटा वडा रहेको गाउँपालिकाका गाउँसभामा ३४ सदस्य थिए । जसमध्ये एक जना जिल्ला समन्वय समितिमा निर्वाचित भएको र अध्यक्षले मतदानमा सहभागी नहुने व्यवस्था अनुसार ३२ जना मात्र मतदानमा सहभागी भएका थिए ।  गाउँपालिकाको सेवाकेन्द्र कहाँ राख्ने भन्ने विषयमा गाउँपालिकाका सदस्यहरू विभाजित भएका थिए । ‘चतुरे’ को पक्षमा केन्द्र राख्ने बहुमत भइसकेपछि गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले चतुरे केन्द्र कायम भएको घोषणा गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सेवाकेन्द्रको विवाद टुङ्ग्याईएको अध्यक्ष इधिङ्गोले बताए । सो ऐनको दफा ४ को उपदफा (३) मा ‘गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहमुतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्पmत नेपाल सरकारमा पठाउनु पर्नेछ’ उल्लेख छ ।

त्यस्तै दफा ४ को उपदफा (५) मा ‘यस दफामा अन्यत्र जुनसकै कुरा लेखिएको भएतापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहमुतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केद्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नु पर्नेछ’ उल्लेख छ ।

सो ऐनले तोकेको अन्तिम दिन मंगलबार अबेर बहमुतबाट चतुरे प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका केद्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरि पठाउने निर्णय भएको अध्यक्ष इधिङ्गोले बताए । यसअघि स्थानीय तहको घोषणाका बेला राजपत्रमा प्रकाशित सूचनामा माङसेबुङ गाउँपालिकाको केन्द्र ‘साविक इभाङ’ उल्लेख छ । गाउँपालिकाको नाममा भने कुनै विवाद थिएन । साविकका गजुरमुखी, इभाङ र बाँझो गाविस मिलाएर माङसेबुङ गाउँपालिका बनाइएको थियो ।

स्वागतसँगै विरोध सुरु
सेवाकेन्द्र ‘चतुरे’ कायम भएपछि सो क्षेत्रका बासिन्दाहरू हर्षित भएका छन् । उनीहरूले आफ्नो जित सबैका लागि जित भएको बताएका छन् । तर, चतुरेका विपक्षमा उभिएका किरात धर्मावलम्बीहरूको प्रमसख धार्मिकस्थल माङसेबुङ लारुम्बाका बासिन्दाहरूले बहुमतबाट पारित निर्णयको विरोध जनाएका छन् ।

आफूहरूको खानेपानीको मुहान चतुरे भएको भन्दै त्यस क्षेत्रमा बस्ती विस्तारले खानेपानी प्रदुषित हुने उनीहरूको तर्क छ । खानेपानीको मुहानमा प्रदूषण हुने भन्दै सेवाकेन्द्र चतुरेबाहेक अन्यत्र सार्न सुझाव दिँदै आएका थिए । करिब १० हजारको संख्यामा रहेका त्यहाँका किरात धर्मावलम्बीहरूले प्रयोग गर्दै आएको ९ वटा खानोपनीको मुहान चतुरे बजारदेखि मुनि पर्दछ । सेवाकेन्द्र चतुरे कायम भएपछि आफूहरू विस्थापित हुने अवस्था आएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

‘यत्रो किरात धर्मावलम्बीहरूको बसोबास रहेको क्षेत्रका अमानेपानीलाई प्रदूषित पार्ने गरी निर्णय भएकोमा हामी दुखित छौं’ किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह लिम्बूले भने, ‘हाम्रो सुझावलाई जनप्रतिनिधिले वेवास्ता गरे । हज्जारौं नागरिकलाई खानेपानीको सुविधाबाट वञ्चित गराउने कोसिस भएको छ । यो नागरिकको पक्षमा भएन ।’

साथै किरात धर्मावलम्बीहरूले बहुमतले पारित सेवाकेन्द्र ‘चतुरे’ बदर गर्न माग गरेका छन् । उनीहरूले त्यसका लागि कानुन व्यवसायीहरूसँग समेत छलफल भईरहेको थेगिमले बताए । तत्काल समाधानको उपाय अपनाए पनि दिगो समाधान नभएको उनको बुझाई छ ।

कहाँबाट सुरु भयो विवाद ?
यसअघि, जिल्लामा गठित स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले सर्वसम्मतिले माङसबेबुङ गाउँपालिकाको सेवाकेन्द्र ‘चतुरे’ भनी पठाएको थियो । तर स्थानीय तह घोषणा हुँदा गाउँपालिकाको केन्द्र ‘साविक इभाङ गाविस’ भनी राजपत्रमा प्रकाशित भएपछि सेवाकेन्द्रको विवाद सुरु भएको थियो ।

स्थानीय राजनैतिक दलहरूका समेत समर्थन ‘चतुरे’ थियो । तर धार्मिक क्षेत्रका बासिन्दाहरूले चतुरे बाहेकको विकल्प खोज्न जनप्रतिनिधिलाई सुझाव दिएका थिए । विकल्प नआएपछि उनीहरूले साविक इभाङलाई समर्थन जनाएका थिए ।

के हो माङसेबुङ÷लारुम्बा ?
माङसेबुङ÷लारुम्बा किरात धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र हो । किरातीहरूको समाज सुधारक, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अनुयायी तथा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन र उनको भक्तजनको बसोबास रहेको सो क्षेत्र पृथक पहिचान बोकेको क्षेत्र हो ।

पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा क्षेत्र अहिले माङसेबुङ नामले परिचित हुँदै छ ।
करिब १५ सय बढी घरधुरी रहेको यहाँ मासुमंस, जाँड, रक्सी खाईन्दैन । दुई वर्ष अघिमात्र मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको थियो ।

लिम्बू समदायको बसोबास रहेको सो स्थान किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलोको रूपमा विकास गरिएको छ । वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाईन्छ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरूको समेत उपस्थिती रहँदै आएको छ ।

प्रतिक्रिया