फरार भनिएका अभियुक्त खुलेआम, पीडित पक्ष तनावमा

शुकदेव थपलिया

काभ्रे । २६ माघ २०७३ मा अदालतले पक्राउ आदेश दिएका सुरजकुमार श्रेष्ठलाई हालसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनले सिंगापुर पठाइदिन्छु भन्दै पीडित टुकुचा नाला–३ का ३८ वर्षीय माधवनारायण श्रेष्ठबाट ०६६ सालदेखि ०७१ सम्म विभिन्न मितिमा २० लाख १३ हजार आठ सय रकम ठगी गरेको पाइएको छ ।

एकाएक ०६५ सालमा चिनजान भएको र परिवारसँग नजिकिएर सुरजले विभिन्न मितिमा विभिन्न बाहना गर्दै पैसा लिएको पीडितले बताएका छन् । सुरजले सिंगापुरमा ग्लोबल टच इन्टरनेसनल कम्पनी रहेको र त्यहाँ विद्युतीय सामग्रीहरू बिक्री गर्ने भन्ने आशा देखाएर उनीबाट सो रकम लिएको उनको भनाइ छ ।

बनेपा–१० का ३३ वर्षीय सुरज यसभन्दा अघिदेखि नै यस्तो ठगी धन्दामा संलग्न भएको पीडितले बताएका छन् । पीडित श्रेष्ठले आपूmले पैसा माग्दा सुरज आफ्नो सम्पर्कमा नै नआउने गरेको र विभिन्न माध्यमबाट आफूलाई मार्ने धम्कीसमेत दिने गरेको बताएका छन् । एक वर्षपछि १८ पुस ०७० मा पीडितलाई सुरजले खातामा पैसा नै नभएको १५ लाखको चेक दिएका थिए । खाली चेक दिएको एक वर्षपछि पीडितले जिल्ला अदालत काभ्रेमा ३ फागुन ०७१ मा मुद्दा दर्ता गरेका थिए ।

जिल्ला अदालत काभ्रेले पनि पीडितको पक्षमा २ फागुन ०७२ मा बिगो सहितको सावाँ र व्याज भराईलिनु भन्ने आदेश दिएको थियो । तैपनि त्यो फैसला आजसम्म पनि कार्यान्वयन हुन सकेको छैन । पीडितले न्याय पाउन सकिरहेका छैनन् । ठगीमा संलग्न रहेका सुरजले उनीलगायत दर्जनौँलाई विभिन्न बाहनामा ठगी गर्ने गरेको र उनको नाममा प्रहरीमा उजुरीहरू समेत परेको बताइएको छ ।

जिल्ला अदालतले २६ माघ ०७३ मा सुरजलाई पक्राउ पुर्जीसमेत जारी गरेको छ तर जिल्ला प्रहरी कार्यालय काभ्रेले भने अहिलेसम्म पक्राउ गरेको छैन । यस सम्बन्धमा बुझ्दा डिएसपी नविनराज राईले आपूmहरूले खोजी गरिरहेको बताउँदै आएका छन् । पक्राउ पुर्जी जारी भएको दुई महिना बित्दा पनि बनेपाकै सुरजलाई प्रहरीले नदेखेको हो या नसमातेको हो भन्ने बारे आपूm अन्योलमा परेको समेत पीडितले बताएका छन् ।

पीडितले बनेपा नपा–१ मा रहेको आफ्नो घर नै बेचेर सुरजलाई पैसा दिएका कारण पीडितको परिवारलगायत तीन सन्तान अहिले बिचल्लीमा परेका छन् । स्रोतका अनुसार सुरज काठमाडौंको बागबजारमा खुल्लमखुल्ला मैदानमा पूर्णरूपमा ठगीकै धन्दामा संलग्न रहेको र बिहान बेलुका बनेपासमेत आउने जाने गरेको बताइन्छ ।

प्रतिक्रिया