कहाँ छन अर्बौ ठग्ने सहकारीका सञ्चालक ?

काठमाडौं, ६ पुस । पछिल्लो समय सहकारीमा लगानी गर्ने वचतकर्ता दिनप्रतिदिन ठगिने क्रम बढ्दै गएको पाइएको छ । मुलुकभर रहेका करिब ३४ हजार सहकारीका लागि नियमन र कार्यान्वयन पक्ष फितलो हुँदा वचतकर्ता ठगिने क्रम बढेको हो ।

नियमनकारी निकाय कमजोर बन्दा सर्वसाधारणबाट रकम जम्मा गरेर फरार हुने सहकारीको संख्या एक सय ५० भन्दा बढी छन् । ‘सहकारी व्यवस्थापन समिति’ गठन नहुँदा पीडितमाथि थप पीडा थपिएको छ । ओरियन्टल, प्यसिफिक, साइनिङ स्टार, कोहिनूर, कन्जुमर, सनराइज, साइरियस तथा युनाइटेड सिटिजन्स लगायतका सहकारीले सर्वसाधारणको अर्बौं लिएर फरार हुँदा पनि नियमक निकाय मौन रहेको देखिन्छ ।

चार वर्षअघि विशेष अदालतका तत्कालीन मुख्य न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको ‘वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँँचबुझ आयोग’ ले एक सय ५३ वटा सहकारीलाई समस्याग्रस्त देखाएका थियो । आयोगले सहकारी र हाउजिङमा रकम फसेका सर्वसाधारणबाट उजुरीसमेत आह्वान गरेको थियो ।

आयोगको आह्वानपछि १२ हजार आठ सय ८० जनाले सावा र व्याजसहित करिब १० अर्ब ८७ लाख रुपैयाँ दाबीसहित उजुरी दिएका थिए । करिब डेढ अर्ब रुपैयाँ हाउजिङमा ठगी गरिएको भन्दै छुट्टै उजुरी परेको थियो । उनीहरूले अहिलेसम्म पनि आफ्नो लगानी फिर्ता पाएका छैनन् ।

०७१ साल यता कति वचतकर्ता ठगिए र कति रकम ठगियो ? सरकारसँगै यसको तथ्यांक छैन । गरिबी निवारण तथा सहकारी विकास मन्त्रालय सहकारीका लागि नियामक माथिल्लो सरकारी निकाय हो । ‘सहकारी व्यवस्थापन समिति’ गठनको प्रक्रियामा रहेको मन्त्रालयका उपसचिव उपेन्द्रबहादुर ढुंगानाले बताए । ‘सम्पूर्ण विवरण तयार पारेर फाइल अर्थ मन्त्रालय पठाएका छौँ,’ ढुंगानाले सौर्यसँग भने ।

उनकाअनुसार अर्थबाट स्वीकृत भएर आउने वित्तकै सहमतिका लागि कानुन मन्त्रालय पठाइनेछ । कानुनबाट पनि सहमति आइसकेपछि आवश्यक प्रक्रिया पूरागरी सहकारी व्यवस्थापन समिति गठन हुनेछ ।

सहकारी ऐन २०७४ मा कुनै सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको अवस्थामा त्यसको दायित्व तथा सम्पत्ति व्यवस्थाका लागि व्यवस्थापन समिति गठन गर्ने व्यवस्था छ । सहकारीले वचतकर्ताको वचत हिनामिना गरेमा वा सहकारी मूल्यमान्यताविपरीत सहकारी सञ्चालन गरेमा कडा कारबाही हुने भनिए पनि नियमावली आउन ढिला हुँदा ठग सञ्चालकलाई कारबाही हुन सकेको छैन ।

के गर्दै छन् वचतकर्ता ?
सहकारीबाट ठगिएका कतिपय पीडित वचतकर्ता आफ्नो रकम फिर्ता माग गर्दै गत पाँच वर्षदेखि आन्दोलनमा छन् । वचत फिर्ता माग्दै विभिन्न सरकारी तथा गैरसरकारी निकाय धाउने सर्वसाधारणको संख्या पनि कम छैन । कतिपयले भने मानसिक सन्तुलन गुमाएका छन् ।

सर्वसाधारणको ६ अर्ब ८६ करोड रुपैयाँ फसेको ओरियन्टल लगायतका पाँच वटा सहकारीपीडित सरकारलाई दबाब दिन एकजुट भएका छन् । ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत जेलमा छन् । सहकारीको कार्यालय तथा कामकाज बन्द भएको पनि वर्षौं भइसकेको छ ।

त्यस्तै युनाइटेड सिटिजन्स सहकारी पीडितले नौ जना सञ्चालकको नाममा महानगरीय प्रहरिवृत्त दरबारमार्गमा जाहेरी दर्ता गराएर पक्राउको माग गरिरहेका छन् । साइरियस वचत तथा ऋण सहकारीका पीडित पनि न्यायका लागि सहकारी डिभिजन कार्यालय धाइरहेका छन् ।

कसले सुन्ने पीडितको आवाज
निरन्तर आन्दोलनरत रहेका सहकारी पीडितको गुनासोमा सरकार तथा नियामक निकायले कुनै चासो दिएको देखिँदैन । समस्याग्रस्त सहकारी संस्थामध्ये सबैभन्दा बढी निक्षेप जोखिममा रहेको ओरेन्टल कोअपरेटिभ सहकारीका पीडित निक्षेपकर्ताले निरन्तर रूपमा आन्दोलन तथा धर्ना दिँदै आए पनि कुनै निकायले त्यसप्रति चासो नदेखाएको गुनासो गरेका छन् ।

सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी संघ लगायतका विभिन्न संघसंस्थामा पीडितले रकम फिर्ताका लागि पहल गरिदिन पटकपटक आग्रह गरे पनि यसप्रति कसैले चासो दिएका छैनन् । उल्टै सहकारी नेताहरू सहकारीको विकृति स्वीकार गर्न आनाकानी गर्छन् । सहकारी पीडितहरू लामो समयदेखि निरन्तर आन्दोलनमा रहे पनि समस्या समाधानप्रति कुनै संस्थाले पनि साथ नदिएको पीडितको आरोप छ ।

४० प्रतिशत सञ्चालक असक्षम
सहकारीको अस्तव्यस्थ अवस्थालाई हेर्ने हो भने ४० प्रतिशत सञ्चालक असक्षम रहेकोे आँकलन गरिएको छ । कतिपय सहकारीले सर्वसाधारणबाट रकम संकलन गर्ने संकलित रकम सहकारीको मूल्य मान्यता र नियम विपरीत ऋण प्रवाह गर्ने गरेका छन् । यसरी सहकारीको रकम डुबाउनुमा सञ्चालक मुख्य जिम्मेवार हुन् ।

सहकारी सञ्चालक राजनीतिक पहुँचको आधारमा सहकारी खोल्ने र आपूm अनुकूलका मानिसलाई सञ्चालक राख्ने कारणले नै सहकारी जोखिममा पर्ने गरेका छन् । यसरी निक्षेप रकम जोखिममा पारेका सञ्चालकले संस्था नै बन्द गरी सदस्यको सम्पर्कबाट फरार हुने गरेका छन् । यसको प्रमुख उदाहरण घरजग्गा व्यवसायी सुधीर बस्नेत नै छन् । घरजग्गा व्यवसायमा आएको मन्दीका कारण आफूले यस क्षेत्रमा गरेको लगानी फस्न गई निक्षेपकर्ताको निक्षेप तिर्न नसक्ने अवस्था सिर्जना भएको उनले बताउँदै आएका थिए ।

नेपालमा अहिले ३४ हजारभन्दा बढी सहकारी संस्था दर्ता छन् । जिल्ला संघ र विषयगत संघगरी तीन सय ३२ वटा, केन्द्रीय संघ २० वटा, राष्ट्रिय सहकारी बैंक एउटा छ भने, करिव ६० लाख सेयर सदस्य छन् । राष्ट्रिय सहकारी संघदेखि लिएर प्रारम्भिक सहकारी संस्थासम्ममा सञ्चालक तथा लेखा समितिगरी तीन लाख सदस्य छन् ।
बक्स

यी हुन् समस्याग्रस्त सहकारी
समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँजबुझ आयोगको तथ्यांकअनुसार ओरेन्टल कोअपरेटिभ लिमिटेड, एक्जिम बहुउद्देश्यीय सहकारी, गुण मल्टिपर्पाेज कोअपरेटिभ लिमिटेड र प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभविरुद्ध ठगीको उजुरी परेको थियो ।

त्यसैगरी कुबेर वचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्रभु वचत तथा ऋण सहकारी संस्था, शुभश्री कोअपरेटिभ लिमिटेड, नवराजधानी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, मिलेनियम वचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनूर हिल वचत तथा ऋण सहकारी संस्था लिमिटेड र सहायता सहकारी संस्था लिमिटेड समस्याग्रस्त रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, पुष्पाञ्जली वचत तथा ऋण सहकारी संस्था लिमिटेड, ओ¥याकल वचत तथा ऋण सहकारी संस्था लिमिटेड, ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मानस वचत तथा ऋण सहकारी संस्था लिमिटेड, जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बाइसधारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध ठगीको उजुरी परेको छ ।

त्यस्तै रोजगार विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, डिमान्ड वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रिक्रियट सर्भिस वचत तथा ऋण सहकारी संस्था लिमिटेड, हितैषी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हाम्रो प्यासिफिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध पनि उजुरी परेको छ ।

यस्तै साइन वचत तथा ऋण सहकारी संस्था लिमिटेड, विश्वास वचत तथा ऋण सहकारी संस्था लिमिटेड, पिताश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेड, संयुक्त हातेमालो वचत तथा ऋण सहकारी संस्था लिमिटेड, गगनचुली वचत तथा ऋण सहकारी संस्था लिमिटेड, परिदृश्य वचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, त्रिपल एम वचत तथा ऋण सहकारी संस्था लिमिटेड, नव नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड, कस्मिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड र मुस्किलमा सजिलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नयाँ बानेश्वरविरुद्ध पनि ठगीको उजुरी परेको छ ।

त्यसैगरी कमलिन वचत तथा ऋण सहकारी संस्था, एपेक्स वचत तथा ऋण सहकारी संस्था, एरिया वचत तथा ऋण सहकारी संस्था, रूपान्तर वचत तथा ऋण सहकारी संस्था, चार्टर्ड वचत तथा ऋण सहकारी संस्था, सुलभ वचत तथा ऋण सहकारी संस्था, भीमसेनगोला इन्द्रायणी वचत तथा ऋण सहकारी संस्था, बागेश्वरी वचत तथा ऋण सहकारी संस्था र रिनाउन्ड बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध पनि उजुरी परेको छ ।

हाइस्ट्रिट वचत तथा ऋण सहकारी संस्था, नवक्षितिज बहुउद्देश्यीय सहकारी संस्था, कामना वचत तथा ऋण सहकारी संस्था, लिडर्स वचत तथा ऋण सहकारी संस्था, कन्ज्युमर वचत तथा ऋण सहकारी संस्था, परिमल वचत तथा ऋण सहकारी संस्था, पब्लिक फाइनान्स वचत तथा ऋण सहकारी संस्था र अञ्जुली वचत तथा ऋण सहकारी संस्था पनि समस्याग्रस्तको सूचीमा छन् ।

यसैगरी रश्शा वचत तथा ऋण सहकारी संस्था, विशंखुनारायण, करोना वचत तथा ऋण सहकारी संस्था, ललितपुर सुनौलो वचत तथा ऋण सहकारी संस्था, विशालचोक, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, बालकुमारी बहुउद्देश्यीय सहकारी संस्था, उग्रचण्डी वचत तथा ऋण सहकारी संस्था, कोपिला वचत तथा ऋण सहकारी संस्था, स्टान्डर्ड मल्टिपर्पोज सहकारी संस्था, दीपशिखा वचत तथा ऋण सहकारी संस्था, सुकुन्दा वचत तथा ऋण सहकारी संस्था र फ्युचर किज स्वास्थ्य सहकारी संस्थाविरुद्ध पनि ठगीको उजुरी परेको थियो ।

प्रतिक्रिया