जेशिका, प्रिन्स र सुनील छनोट

काठमाडौं । प्रिन्स दाहाल र सुनील जोशी दोस्रो संस्करणको योनेक्स–सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजका लागि छनोट भएका छन् । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको क्वालिफाइङ राउन्ड पार गर्दै प्रिन्स र सुनील मेन्स सिंगल्सको लागि छनोट भएका हुन् । बुधबार भएको महिला सिंगल्सको क्वालिफाइङमा नेपालकी जेशिका गुरुङले भुटानकी थिन्ले वाङमोलाई हराउँदै सिरिजमा स्थान बनाइन् । जेशिकाले थिन्लेमाथि २१–७ र २१–८ को सहज जित निकालिन् ।

नेपाल ब्याडमिन्डन संघको आयोजनामा भएको सिरिजअन्तर्गत पुरुष सिंगल्सको क्वालिफाइङको दोस्रो चरणमा प्रिन्सले बंगलादेशका मोहम्मद इरिफुल स्लामबाट वाकओभर पाउँदै छनोट चरण पार गरे ।

त्यसअघि पहिलो चरणमा प्रिन्सले भारतका शुभममाथि १३–२१, २१–१२ र २१–१५ को संघर्षपूर्ण जित निकालेका थिए ।  सिधै दोस्रोचरणको खेल खेलेका सुनीलले भुटानका जामयाङ तेन्ङिमाथि २१–८ र २१–४ को सहज जित निकाल्दै छनोट चरण पार गरेका थिए ।

सुनीलले मेन्स डबल्समा पनि गौतम कठायतसँग मिलेर छनोट चरण पार गरेका छन् । त्यसक्रममा सुनील र गौतमको जोडीले भारतका हर्ष जगधाने र निहार केलकरको जोडीमाथि २१–१६ र २३–२१ को संघर्षपूर्ण जित निकाले ।

 

महिला सिंगल्सकै क्वालिफाइङमा सम्झना शर्मा, सीता राई, पुनम गुरुङ र रशिला महर्जन पराजित हुँदै सिरिजका लागि छनोट हुन सकेनन् ।  उक्त ब्याडमिन्टन सिरिज आगामी ९ पुषसम्म सञ्चालन हुनेछ । गतवर्ष आयोजना गरेको अन्तर्राष्ट्रिय सिरिज सफलतापूर्वक सम्पन्न गरेकाले यसवर्ष पनि नेपाललाई विश्व ब्याडमिन्टन महासंघ र एसियाली ब्याडमिन्टन महासंघले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको थियो ।

सिरिजमा दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र भुटानले सहभागिता जनाएका छन् । म्यानमार र मंगोलिया तथा ओसियानाबाट अस्ट्रेलिया र उत्तर अमेरिकाबाट चिलीको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया