कैलाली क्षेत्र नम्बर-१ मा रेशम कसरी उदाय ?

वीरेन्द्र रावल  धनगढी २ पुस । देसैभरी बामगठबन्धनको लहर चलिरहेका बेला प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुले आफ्नो जीत सुनिश्चित देख्नु स्वभाविक पनि थियो । निर्वाचनको मत परीणामले केहि हद सम्म त्यो कुरालाई सत्य सावित पनि गरिदिएको छ केही स्थानहरुमा अस्वभाविक रुपले ।

हुन पनि देसका अधिकाँश स्थानहरुमा बाम गठबन्धनले सोचे अनुरुप सन्तोषजनक बहुमत प्राप्त गरिनै छाड्यो । एमाले — नेकपा माओवादी बिच भएको चुनावी तालमेल र चुनाव पछि पार्टी एकिकरणको मुद्धाले सारा नेपाली जनतामा एक प्रकारको खुशीनै छाएको थियो । जनता यस अर्थमा पनि खुशी देखिन्थेकी बाम गठबन्धन मिलेको खण्डमा देशमा दुई तिहाईको सरकार बन्छ । देशले स्थिर सरकार बनाउँछ ।

स्थिर सरकारबाट मात्रै देश र जनताले खोजेको समृद्धि र विकास पाईन्छ भन्ने आशा र भरोसा बोकेका नेपाली जनताले बाम गठबन्धनको पक्षमा मतदान गरे । अँझ भन्नु पर्दा लोकतान्त्रिक गठबन्धन भन्दापनि बाम थठबन्धनको चुनावी एजेण्डा आशा लाग्दा र समसामयिक भएकै कारण चुनावी परिणाम पनि बाम गठबन्धनकै पक्षमा आयो । जसरी चुनावी लहर बाम गठबन्धनको पक्षमा थियो त्यसरीनै मतपरीणाम पनि आयो । तर न कुनै एजेण्डा न कुनै विकास र समृद्धिका नारा विनानै कैलाली क्षेत्र नम्बर १ मा बाम गठबन्धनले कल्पनानै नगरेको चुनावी परिणाम बाहिर आउन पुग्यो ।

जसबाट बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन अच्चमीत बन्न पुगे । कैलाली क्षेत्र नम्बर १ अन्तरगत प्रतिनीधि सभा निर्वाचनमा रेशम चौधरी प्रहरीको फरार सूचिमा रहेकाले उम्मेदवारी दर्ता गर्न सम्म आउन पाएनन् । वारेसनामा मार्फत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट चौधरीको उम्मेदवारी परेको थियो । इन्द्र चौधरीले उनको उम्मेदवारी दर्ता गराएका थिए । आफैलाई समेत भोट हाल्न नपाएका चौधरी २० हजार ९ सय ३५ फराकिलो मतान्तरका साथ निर्वाचित भएर कैलालीमा नयाँ रेकर्ड कायम गरेका छन् ।

उनले ३४ हजार ३ सय ४१ मत प्राप्त गरे । वारेसनामा मार्फत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट चौधरीको उम्मेदवारी परेको थियो । इन्द्र चौधरीले उनको उम्मेदवारी दर्ता गराएका थिए । २०७० को संविधान सभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट निर्वाचन जितेका जनक चौधरी र टीकापुर घटनामा संलग्नताको आरोपमा प्रहरी प्रशासनले अभियुक्तको सूचीमा राखेको रेशमलाल चौधरीलाई जनताको अभिमतले निर्वाचित गरेको छ । टीकापुर घटनापछि फरार रहेका चौधरीले सबैलाई अचम्मित बनाउँदै कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट अत्यधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा जित्न पुगे ।

चौधरीका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एमाले केन्द्रिय बैकल्पिकक सदस्य एवं पूर्व सभाषद मदनकुमारी (गरिमा) शाहले १३ हजार ४०६ मत प्राप्त गरिन् । भने नेपाली काङ्ग्रेसका ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरिन् । क्षेत्र नम्बर १ मा कुल ६४ हजार ६ सय ५४ जनाले मतदान गरेका थिए । निर्वाचनको लहर चलिरहेका बेला बजारिया हल्ला भने वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा व्यापक थियो ।

तर, रेशम चौधरीले सबैलाई जिल्ल बनाउँदै जित हात पारे । उनले जितसंगै कैलालीमा सबैभन्दा बढी मत पाउने र सबैभन्दा बढी मतान्तरका साथ विजयी हुने रेकर्ड पनि बनाउन सफल उम्मेदवारमा पर्न पुगे । यसपूर्व भएको २०६४ र २०७० को निर्वाचनमा समेत चुनाव लडेका चौधरी दुवै पटक पराजित भएका थिए । थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते टीकापुरमा ७ सुरक्षाकर्मी र एक बालक गरी आठ जनाको ज्यान गएको थियो । सोही घटनामा संलग्नताको आरोपमा उनीमाथि ज्यान मार्ने अभियोग लागेको छ ।

चौधरीलाई पक्राउ गर्ने पुर्जी जारी भएपछि उनी २६ महिनादेखि निर्वासित अवस्थामा छन् । टीकापुर घटनाको प्रतिशोधमा भदौं ८ गते चौधरीको घर र सञ्चालन गरेको एफएममा आगजनी समेत गरिएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड भारतको राजधानी दिल्ली पुग्दा रेशमलालले दाहाललाई भेटेर टीकापुर घटना राजनीतिक भएको र आफू निर्दोष रहेको भन्दै मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । फरार अवस्थाका चौधरीले अत्यधिक भोट पाएर शनसनीपूर्ण जित हासिल गरेपछि उनलाई कसरी यति धेरै मत प्राप्त भयो भनेर सर्वत्र चासोको विषय बनेको छ ।

के थियो चुनावी एजेण्डा रेशमको ?

रेशमलाल चौधरीले प्रदेश सभाको निर्वाचनको मिति घोषणा संगै चुनावी वातावरणमा लागि सकेको देख्न्थ्यिो । उनले गाउँघरमा माईकिङ् ,सभा र समारोह त गरेनन् नै तर उनको पक्षमा वकालत गर्ने र घर दैलोमा जाने राजपा र थरुहटका ५ सयको संख्या भन्दा बढी युवा र बढघरहरु परिचालित थिए । सघन रुपले उनले आफुलाई उम्मेदबार बनिसकेको र यो चुनाव जसरीपनि आफ्नो पक्षमा पार्न सबैलाई आग्रह गर्ने बलियो जुझारु युवाहरु सञ्चाल परिचालित गराए ।

अस्तित्वको लडाई ?

टीकापुर घटनापछि हजार भन्दा बढी थारु युवाहरु पलायन भएका केयौं जेलमा बस्न बाध्य भएका र आफु स्वयं परबासमा रहेकाले त्यसबाट उन्मूक्ति पाउने एकमात्र उपाय मतदान त्योपनि थारुहरुको नेतृत्वलाई जिताए भनेमात्र सम्भव भन्ने भावनात्मक र जातीय नारा गाउँ स्तरमा फैलाए रेशमलालका कार्यकर्ताहरुले ।

जनताको फैसला सर्बमान्य

जसरी आफुलाई टीकापुर घटनाको आरोपित बनाइएको छ त्यो आरोप सम्पूर्ण थारु समुदायमाथिको भएकोले निर्वाचनमा जिताएको खण्डमा जनताको आदेशबाट अदालतले मुद्धा खारेज गर्न बाध्य हुने छ भन्दै आम थारु समुदायमा व्यापक रुपले प्रचारबाजी गराईयो ।

थरुहट आन्दोलनका विरोधी हराऊ अभियान ?

टीकापुर घटनामा आफुलाई मुख्य दोषी बनाउन लगाउने तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छेदार, फोरमका बरिष्ठ नेता एवं स्वास्थ्य मन्त्री समेत पाएर गच्छेदारसंगै देउवा सरकारमा गएका रामजनम चौधरी, भूमिसुधार मन्त्री गोपाल दहित र जनक चौधरी लगाएतका केहि थारु नेताहरुले थरुहट आन्दोलन तुहाएको भन्दै थारु समुदायबाट बहिष्कार गर्नका लागि चुनावलाई हतियार बनाएर लैजानु पर्ने मुख्य एजेण्डालेनै कैलाली क्षेत्र नम्बर १ मा रेशमला चौधरीले खसेको मतको ९० प्रतिशत मत थारु समुदायको पाएका छन् ।

बिजय गच्छेदार र गोपाल दहितमाथी थारु आन्दोलन तुहाउने र टीकापुर घटनालाई मोडेर रेशमलाल चौधरी मुख्य योजनाकार हो भन्ने पारेर युवा प्रतिभा भएका रेशम लाल र लक्षमण थारुलाई विस्थापित गर्ने योजना थाहा पाइसकेपछि थारु विरोधी थारु अभियान थालेकै कारणले मात्र टीकापुर क्षेत्रका थारु समुदाय मात्र नभई तराईका थारुहरुले गोपाल दहित, रामजनम चौधरी, जनक चौधरीले नराम्रो पराजय भोग्नु परेको र गच्चेदारले धाँधलीपूर्ण तरिकाले निर्वाचन जितेको दावा रेशमलाल चौधरीका पक्षधरको रहेको छ ।

बडघर र भलभन्सालाई हातमा लिनु ?

टीकापुर घटनापछि आफुले निर्वासित जीवन बिताउनु परेकोले त्यसबाट उन्मूक्ति दिलाउनका लागि गाउँघरका ठुला ठालुहरुलाई रेशम चौधरीका कार्यकर्ताहरुले सघन रुपले एकताबद्ध र जातीय उत्पीडन र थारु अधिकारका लागि एकजुट भएर चुनावी माहौलमा होमिन र रेशमलाललाई निर्वाचित गराउनु पर्ने उर्दि जारी गरिनु । उर्दि विरुद्ध जानेलाई थारु समुदायलेनै बहिष्कार र कारवाही गर्ने खालका मानशिक र नैतिक बन्धनको डोरी कसिलो बनाउनु ।

बाहिरीय समर्थन ?

टीकापुर घटनापछि सरकारबाट रेशमलाल चौधरीलाई क्षतिपूर्तबापत पौना दुई करोड रुपैयाँ पाए । निर्वाचनका लागि यो रकम सानो क्षेत्रका लागि चुनाव जित्न सक्ने प्रचुर स्रोतका रुपमा हेर्न सकिन्छ । यति मात्र होईन जातीय रुपमा पनि रेशम लाल चौधरीले आदीवासी जनजाती र थारु समुदाले राम्रै आर्थिक सहयोग गरेको बुझिन्छ । जसले गर्दा चुनाव जित्ने बलियो आधारको रुपमा प्रमाणित भएको छ । यति सम्मकी रेशमलाल चौधरीलाई निर्वाचनमा जसरीपनि जिताउनकालागि दक्षिणबाट ठूलै रकम भित्रिएको दावी निकटतम प्रतिद्धन्दी बामगठबन्धनकी उम्मेदवार मदनकुमार शाहको छ ।

राजपा र काँग्रेसको साँठगाँठ देखियो

टीकापुर नगरपालिकाको वडानम्बर ७ राजीपुर र पर्सेनी मतदान केन्द्रको बुथमा प्रतिनीधि सभामा छाता र प्रदेश सभामा रुखलाई मत खसेको आधारमा पनि पहाडी समुदायका ४ हजार मतहरु रेशमलाललाई गएको बताईन्छ । रुख र छातामा मतदान गरेको प्रमाण सो बुथलाई लिनसकिन्छ भने समानुपातिकको एउटै मतपत्रमा रुख र छातालाई मत खस्नुले पनि सहजै अनुमान लगाउन सकिन्छकी त्यो क्षेत्रमा प्रदेश र प्रतिनीधि सभामा नेपाली काँग्रेस र राजपाबिच केहि स्थानमा भित्रि योजना भएको रहेछ भन्ने । प्रदेश सभामा बाम गठबन्धनका नेप बहादुर चौधरी र नेपाली काँग्रेसका तर्फबाट डा. रण बहादुर रावल उम्मेदवार रहेका थिए । सो क्षेत्रबाट नेपाली काँग्रेसका डा. रण बहादुर रावल निर्वाचित हुन पुगे ।

जातीय सद्भावका लागि छातामा भोट

एक जना दुधे बालक सहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर घटनाले निम्त्याएको अनिष्टलाई अव उप्रान्त नदोहोरिन दिनका लागि रेशमलाल चौधरीका समर्थकहरुले गाउँ गाउँमा व्यापक रुपले प्रचारबाजी गरेका थिए । कल्पना गर्न नसकीनेगरि भएको टीकापुर घटनाबाट ५ महिना सम्म टीकापुर क्षेत्रमा तनावको अवस्था सृजना भएको थियो ।

जो कुराबाट मुक्ति दिलाउनका लागि पनि छातामा भोट हाल्नु पर्ने आग्रह भिडियो र प्रोजेक्टर मार्फत रातीको समयमा गाउँ — गाउँमा बडघरहरुमार्फत जनतालाई भेला बोलाएर चुनावी प्रचार प्रशार गरिनुले पनि सबैथरी भोटहरु रेशमलालको पक्षमा हालिएको बताइएको छ ।

दक्षिण र युरोपियनहरुको हात

कैलाली जिल्लामा खासगरि ३२ दिन सम्म चलेको अखण्ड आन्दोलनकै कारण पहाडी र थारु बिचमा सामाजिक सदभाव खलबलिएको देखिन्छ । त्यस भन्दा पहिले युरोपियन युनियन र दक्षिणपन्थीहरुको दोहोरो जुहारि चल्यो लगभग एक बर्ष सम्म सात नम्बर प्रदेशमा विभाजनको रेखा कोर्नका लागि । देशमा गणतन्त्र आईसकेपछि पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न हुनु अगावै कैलाली र कञ्चनपुरका होटल र सभा समारोहमा आईएलओ १६९ र आत्म निर्णयको अधिकार के हो ? को आदीवासी हुने ?

को आयातित् हुन वा कसको जमिन कसले उपभोग गर्न पाउने र कसले नपाउने ?  कसको अधिकार कति ? भन्ने व्यापक कक्षाहरु चलाईए । अधिकार सहितको प्रदेशहरुको हल्ला पनि चलाइए । पूर्वमा मगराँत, किराँत र लिम्वुवान राज्यहरु र चितवन देखि पश्चिम कञ्चनपुर सम्म थरुहट राज्य अनि एक प्रदेश एक मधेश लगायतका व्यापक नाराहरु लगाइए । विगतमा एकै रछान, एकै पानी पाधेरोगरि बसेका थारु र पहाडी समुदायलाई विभाजन गर्ने कार्यहरु भए । संविधान बाहिर आउन नपाउदै अखण्ड आन्दोलन र थरुहट आन्दोलनहरु पनि चर्किए ।

हुँदा हुँदा त कैलाली कञ्चनपुर लगायत तराईका जिल्लाहरुनै अलग देस र राज्य बनाईनु पर्ने माग सहित पश्चिमका सोझा साझा थारुहरुलाई अमरेश सिंह र अशोकराई लगायतकाहरुले सार्वजनिक स्थलमै आव्हान गर्न थाले । पहाडीलाई भगाओ अभियान ल्याईयो । यति सम्मकी डोकेबोकेर आएका पहाडी पहाड फर्किनु पर्ने चर्को नाराहरु समेत लागे । यसको पछाडी युरोपियन युनियन र दक्षिणपन्थीहरुको ठूलै हात रहेकोमा दुईमत छैन । जसको परिणाम कैलालीको टीकापुरले अकल्पनिय ढंगबाट घटना हुन पुग्यो ।

कैलालीमा थारु— थारु बिच बिभाजन

टीकापुर घटनाको एक बर्षपछि थारु —थारु बिच बिभाजन शुरु भयो । एक थरी थारु थरुहट आन्दोलनको पक्षमा रहे भने अर्कोथरी थारु समुदायको नेतृत्व गर्नेहरु सरकारमा सहभागी हुन पुगे । थरुहट आन्दोलनलाई तुहाएको आरोप लाग्नेहरु जो तत्कालिन अवस्थामा सरकारमा गएका थिए तीं व्यक्तिहरु हुन गोपाल दहित, रामजनम चौधरी, जनक चौधरी र बिजयकुमार गच्छेदार । उनिहरु सरकारमा पुगीसकेपछि थरुहट आन्दोलन तुहाएको भन्दै कारागारमै रहेका फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य एवं टीकापुर घटनाका अर्का आरोपित लक्षमण चौधरीले सो पार्टीबाट राजिनामा समेत दिए ।

उनि राजपा पार्टी प्रवेश गरे । यस घटनापछि सम्पूर्ण युवा थारुहरु र थारु कल्याणकारीणी सभाको नेतृत्वमा सरकारमा जानेहरुलाई थारु समुदायबाटै बहिष्करणमा पार्ने योजना भयो । त्यही योजनाका आधारमा जनक चौधरी र रामजनम चौधरी कैलाली बाट र गोपाल दहित बर्दियाबाट थारुहरुलेनै बढारिदिएको रेशम समर्थकहरुको दावी रहेको छ । कैलाली जिल्लाका थारु समुदायमा पनि थारुहरुको जातीय अस्तित्व बचाउनका लागि जाती बिचमा पनि ठूलै संघर्ष चल्ने संकेत देखा पर्न थालेका छ । जात जाती भित्र देखा परेको यस प्रकारको बेमनश्यता अन्तरजातीयमा परिणत हुन पुगेको आभाष यस निर्वाचनको परिणामले देखाएको छ ।

साहानुभूतिको भोट

टीकापुर घटनाको आरोपित रेशमलाललाई प्रतिनीधि सभामा पाएको सफलतालाई दोषी दावी गरिएपछि उनले सहानुभूतिको रुपमा धेरै भोट पाएर चुनाव जितेको कतिपयको तर्क छ । चौधरीको पक्षमा धेरै भोट पर्नुलाई टीकापुर घटना र जातीय सेन्टिमेन्टको रुपमा अथ्र्याइएको छ । चौधरी निर्दोष रहेकाले उनलाई अत्यधिक भोट प्राप्त भएको स्थानीय दिनेश चौधरीको भनाई छ । ’रेशमलाल निर्दोष रहेको सावित गर्नका लागि धेरै जनताले उहाँलाई भोट दिएर माननीय बनाउनु भएको हो, चौधरीले भने, ’सबै कुरा जनताको जनादेशबाट नै छर्लङ्ग छ ।

पहिचान सहितको सङ्घीयताका लागि सङ्घर्ष गर्ने क्रममा ज्यान मुद्दा अभियोग लागेर निर्वा्सित जीवन बिताउन बाध्य रहेकाले पहिचान पक्षधरहरुको मत उनलाई बढी मिलेको बताईन्छ । तर, रेशम चौधरीले टीकापुरका थारु, पहाडी सबै समुदायका व्यक्तिले आफूलाई माया गरेर भोट दिएको दावी गरेका छन् ।

रेशमको दाबा

मैले निर्वाचन जितिसकेको मानिस हुँ । जसरी चुनावमा सहभागि हुन र उममेदवारी दर्ता गर्ने प्रकृयामा सामेल गराईयो त्यसरीनै मैले सफत खान पाउनु पर्ने हो । म अदालतको सम्मान गर्छु तर निर्वाचन आयोगले जनताको मूल्यांकनको धज्जी उडाएको छ भन्दै रेशमले टीकापुर घटनामा आफु निर्दोष भएको बताउदै न्यायिक छानविन हुनु पर्ने समेत माग गर्दै आईरहेका छन् । उनले जातीय सद्भाव बिग्रेको टीकापुरलाई म सपार्न र लागेका दागहरु म मिटाउन चाहान्छुँ । यसको वातावरण सरकार र राजनीतिक दलहरुले बनाउन सक्नु पर्दछ ।

को हुन रेशमलाल ?

साविक पथरैया हाल कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा २०३४ सालमा जन्मेका चौधरीले त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । गायन र पत्रकारितामा दख्खल राख्ने चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय भएका थिए । रेडियो नेपालले क श्रेणीका गायकको सूचीमा राखेको उनी गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, शुक्ल दिक्षित पुरस्कार लगायतका थुप्रै राष्ट्रिय पुरस्कार र पदकबाट सम्मानित भएका छन् । टीकापुर क्षेत्रमा उनी एक सामाजिक सेवामा समर्पित व्यक्तिको रुपमा समेत चिनिएका थिए ।
अन्त्यमा ?

कैलाली जिल्लामा मात्र नभएर थारु वाहुल्य क्षेत्रमा जातीय दंगाफैलाउने र सद्भाव विगार्ने खेल यस बिचमा हुन सक्छ । वारी पारी दक्षिणले देखावटी रुपमा रमेश चौधरीलाई कारवाहीका लागि उक्साहट गर्न सक्दछ । जनताले लोकतन्त्रमा रेशमलाई जिताई सकेको अवस्थामा द्धन्द्ध रुपान्त्रणका लागि जनमतलाई पनि कदर गर्दे विगतमा शान्ति प्रकृयाका लागि अपाइएका सबै बाटा र पाटाहरुलाई नेपाल सरकार र राजनीतिक दलहरुले सुुझबुझ अपनाएर समस्याको साधान खोज्ने वैज्ञानिक उपाए अपनाउन सक्नुपर्दछ ।

नत्र भने नेपालमा जातीय द्धन्द्ध फैलाउने र जनतालाई विभाजनको बाटोमा लैजान सक्ने खतरा रहेकाले देशी विदेशी चलखेल रोक्नकालागि पनि यसको समाधान खोज्न जरुरी देखिन्छ ।

 

प्रतिक्रिया