बेकह्यामले ओलम्पिक टर्च बोक्ने


लन्डन, ३ जेठ । इङल्यान्ड राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान डेभिड बेकहयाम एथेन्सबाट ब्रिटेनसम्म ओलम्पिक ज्योति ल्याउने बेलायती प्रतिनिधि टोलीमा रहने भएका छन् । एथेन्समा शुक्रबार हुने ज्योतिको औपचारिक हस्तान्तरण कार्यक्रममा सहभागी हुने बेकहयाम उक्त ज्योतिलाई बेलायत ल्याउने टोलीको साथमा रहने आसन्न लन्डन ओलम्पिक आयोजकले जनाएको छ ।
बेकहयाम लन्डन ओलम्पिकका ‘एम्बेसडर’ हुन् । सन् २००५ मा ओलम्पिक आयोजनाका लागि इङल्यान्डबाट दाबी प्रस्तुत गरेको टोलीमा बेकहयाम महत्त्वपूर्ण सदस्य थिए ।
राजकुमारी एनी र लन्डन ओलम्पिक आयोजना प्रमुख सेब कोएको नेतृत्वमा एथेन्स जाने बेलायती प्रतिनिधि टोलीमा बेकहयामसहित लन्डन सहरका मेयर बोरिस जोन्सन र खेलकुद तथा ओलम्पिक मन्त्री हयुग रोबर्टसन हुनेछन् । हस्तान्तरण भएपछि उक्त ज्योतिलाई आगामी शनिबार ओलम्पिक ट्रिपल स्वर्णपदकविजेता सेलर बेन आइन्सलिएले बोक्न सुरु गर्नेछन् । र, त्यो पालैपालो बोकेर उनीहरूले इङल्यान्ड ल्याउनेछन् ।
हाल अमेरिकास्थित एलए ग्यालेक्सी क्लबका लागि फुटबल खेलिरहेका बेकहयामलाई एथेन्समा अन्य पाँच बेलायती युवकले पनि साथ दिनेछन् । ती सबै पाँच युवालाई लन्डन ओलम्पिक आयोजना कमिटी र ब्रिटिस काउन्सिलले छनोट गरेको हो । ‘ज्योति ल्याउन इङल्यान्डका युवाको पनि सहभागिता चाहयौं,’ कोएले भने । पूर्वी लन्डनस्थित ‘न्यु ओलम्पिक स्टेडियम’ मा २७ जुलाईको रात लन्डन ओलम्पिकको उद्घाटन हुनेछ । यसै रंगशालाको नजिकै बेकहयामले आफ्नो बाल्यकाल बिताएका थिए ।
गत साता ओलम्पियामा आयोजित एक ‘एनसिएन्ट’ खेलकुद प्रतियोगिताका बीच सूर्यको किरणद्वारा प्रज्ज्वलित दीप यतिबेला ग्रिसभर घुमाइराखिएको छ । ७० दिनसम्म बेलायतीले बोक्ने उक्त दीप आठ हजार मानिसले बोकेर बेलायतभरि डुलाउनेछन् । ज्योति इङल्यान्डभर १२ हजार आठ सय किलोमिटर दूरी घुमाउँदा एक हजार अठार समुदायमाझ पुग्नेछ ।

प्रतिक्रिया