मिर्गौला रोगीलाई इजरायलबाट सहयोग

चितवन, १ मंसिर । अर्थ अभावले तीन बर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गर्न नसकेका चितवनको भरतपुरका एकजना मिर्गौला रोगीलाई इजरायलबाट रु एक लाख ८० हजार सहयोग प्राप्त भएको छ ।

भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको उपचारका लागि यसरी सहयोग आएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेको ३ वर्ष बित्दासमेत अर्थ अभावका कारण उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।

उनको उपचारका लागि इजरायलमा बस्ने भरतपुर–११ भोजाडका कमल गुरुङले रु एक लाख ८० हजार सहयोग गरेका हुन् ।

अहिलेसम्म उनले भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताएका छन् ।

रोगको पहिचान र डाइलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको जनाइएको छ ।

मधुमेह र रक्तचापको समेत रोग भएका गुरुङले पैसा नभएपछि सहयोगको याचना गर्दै आएका छन् ।

शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेका उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरे ।

पछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र, काठमाडौँमा उपचारका क्रममा चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका थिए ।

सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्न लाग्ने औषधि खर्च जोहो गर्नसमेत धौधौ भएको उनी बताउँछन् ।

श्रीमान्को उपचार गर्नका लागि भएको सात धुर जग्गा पनि बिक्री गर्नुपरेको गंगामायाले बताइन् । उपचारका लागि करिब रु ३० लाख लाग्ने उनले बताइन् । उनले नै मिर्गौला पनि दिन लागेकी छिन् ।

प्रतिक्रिया