सडकमा अलपत्र पर्नेको संख्या बढ्दै

ललितपुर, १८ भदौ । रामेछाप जिल्ला कुम्गुस्थलीका विनोद सन्तान र सम्पति दुवै भएर पनि एक्लो जिन्दगी बिताउन बाध्य छन् । झण्डै ५० वर्ष उमेरका उनि तीन वर्षसम्म रातोपुलमा मागेर गुजारा गर्दथे ।

अहिले उनि एउटा संस्थामा आश्रय लिइरहेका छन् । उनका मिर्गौलाले काम नगर्ने भएको छ तैपनि उनको उपचार हुनसकेको छैन । संस्थाले विभिन्न माध्यमबाट उनकी छोरीको खोजी गरेको छ ।

एक/दुई दिनमा लिन आउँछु भनेर गएका छोरीज्वाइँ एक महिना बित्दासमेत फर्किएका छैनन् । उनि आफैंँ पनि बरु पाटी फर्कर्ने तर सन्तानसँग नफर्कने बताउँछन् । नेपाल र भारतका ठूला होटलमा काम गरेका विनोद रोग बढ्दै जाँदा असह्य भए ।

सन्तानको माया र स्याहार चाहिने उमेरमा बेवास्ता गरिएपछि मन मरेर उनि सडकमा पुगे । युवाको एउटा टोलीले उनलाई उद्धार गरेर मानवसेवा आश्रम पुर्यायो ।रोगसँग लडिरहेका उनि अहिले पनि उपचार पाएमा पहिलेको जीवनमा फर्कने आशा गर्छन् ।

‘कुक’ का रुपमा काम गरेर जीविकोपार्जन गर्ने इच्छा उनमा भएको उनको उद्धार गर्ने समाजसेवी दुर्गानाथ दाहाल बताउँछन् । दाहाल भन्छन्, “महँगो पर्ने भएकाले उहाँको उपचार गर्न भने सकिएको छैन ।”

विनोद जस्तै सन्तान भएर पनि नवलपरासीका हरि सुवेदी एक्लो भएका छन् । दुई छोरा र एक छोरीका पिता उनि कडा खालको मानसिक रोगबाट ग्रस्त हुनुन्छ । उनको रोगकै कारण श्रीमतीले अर्कासँग विवाह गरिन् ।

काठमाडौँमै रहेकी छोरीले केही वर्ष हेरे पनि अहिले वास्ता गरेकी छैनन् । विदेशमा रहेका छोरा अहिले स्वदेश फर्किएका छन् । तैपनि हेर्ने अवस्था छैन । उनलाई छोरीले पशुपतिस्थित वृद्धाश्रम पुर्याएकी थिइन् ।

उनको ५३ वर्ष उमेर कम भएको भन्दै वृद्धाश्रमले आश्रम पठाएको हो । परिवारमा सबै भए पनि उनलाई परिवारमा फर्काउन सकिने अवस्था नभएको आश्रमले बताएको छ ।

विभिन्न कारणले परिवार छाडेर बाँच्नका लागि सडकमा पुग्नेको संख्या बढ्दो छ । पारिवारिक बेमेल नै सडकमा पुग्नाको मुख्य कारण बनेको छ । सडकमा मागेर सडक पेटी वा पाटीमा रात कटाउनेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक छन् ।

कतिपय सन्तान नभएर त कति भएका सन्तानले बेवास्ता गर्दा सडकमा मागेर जीवन धानिरहेका छन् । लगनखेलमा मानसिक अस्पताल भएका कारण लगनखेल, सातदोबाटो, जावलाखेललगायत स्थानका पाटीमा मानसिक रोग लागेर सडकमा पुगेका धेरै भेटिन्छन् ।

मानवसेवा आश्रम नामक संस्थाले सडकका धेरैको उद्धार गरिरहेको छ तर सडक खाली नै गर्न भने सकेको छैन । सडकमा मागेर जीवन धान्नेमा कतिपय सन्तान नै नभएका ज्येष्ठ नागरिक छन् ।

उमेरमा देश-विदेश घुमेका जयबहादुर घिमिरे काम गर्न नसक्ने भएपछि भने एक दशकभन्दा लामो समय पाटीमा मागेर गुजारा गर्न बाध्य भए । आफ्नो घर रामेछाप बताउने उनि अविवाहित छन् ।

दाजुभाइले सम्पति खाएको उनको आरोप छ । सम्पत्ति र सन्तान केही नभएपछि सडक अन्तिम विकल्प भएको हो । आश्रमले लगेपछि उनि अहिले आश्रममा नै मृत्यु कुरेर बसेका छन् । उमेरले ८० वर्ष नाघेका घिमिरे अझै आफ्नो काम आफैँं गर्न रुचाउँछन् ।

भन्छन्, “आफैंँले भाँडा माझेर खाँदा मात्र आनन्द लाग्छ ।” उनि नियमित रुपमा मुटु र उच्च रक्तचापको औषधि खाने गर्दछन् । विभिन्न कारणले सडक जीवन बिताउन बाध्य भएकामा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको आश्रम ललितपुरका प्रमुख धर्मप्रसाद पौडेल बताउँछन् ।

आश्रम अहिलेसम्म स्वदेशी सहयोगले मात्रै चलिरहेको छ । सातामा दुई दिन सडक अवलोकन गरेर आश्रमले सडकमा मागेर गुजारा गर्नेलाई ल्याउने गरेको छ । उनि भन्नुछन्, “मागेर समेत खान नसक्ने नै हाम्रो लक्षित वर्ग हो ।” देशभरका आठ आश्रममा गरेर झण्डै एक हजार जनाको उद्धार भएको छ ।

एक सय ७५ जना पुनःमिलन गराइएको पौडेल बताउँछन् । पचास जनाभन्दा बढी ज्येष्ठ नागरिकको आश्रममा नै मृत्यु भइसकेको छ । अहिले संस्थाले आश्रय दिए पनि सडकमा अलपत्र परेका नागरिकको जिम्मेवारी स्थानीय निकायले लिनुपर्नेमा आश्रमको जोड छ । रासस

प्रतिक्रिया