काठमाडौं ४ भदौ । अघिल्लो साताको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा मात्र साढे ८ अर्ब बढीको क्षति भएको छ । कृषि विकास मन्त्रालयले तयार पारेको क्षतिको तथ्यांकमा साढे ८ अर्बको नोक्सानी भएको उल्लेख छ । कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढीपहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति भएको जानकारी दिएका छन् । राजधानीमा शनिबार आयोजित एक अन्तरक्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको जानकारी दिए ।
१० भदौभित्र कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गरिने बताउँदै उनले क्षति के कति भएको हो ? कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भइसकेकाले त्यसको अध्ययनपछि राहतका कार्यक्रम ल्याइने प्रस्ट पारे । ‘बाढीका कारण धेरै जनधनको क्षति भएको छ, उनले भने ‘सरकारले मृतकका परिवारलाई २ लाख तथा घर मर्मतका लागि २५ हजारका साथै दैनिक खाजा खर्चस्वरूप ७० दिने निर्णय गरिसकेको छ ।’ राहत तथा उद्धारका लागि सरकारले द्रुतस्तरमा काम गरिरहेको बताउँदै उनले स्थानीय प्रशासनलाई समेत केन्द्रबाट अत्यावश्यक सामग्री तत्काल वितरण गर्न निर्देशन दिइसकेको प्रस्ट पारे ।
त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री एकद्वार प्रणालीमा वितरण भएको जानकारी दिँदै मन्त्री यादवले आफ्नो मन्त्रालय मातहतका करिब ७ हजार ५ सय कर्मचारीबाट संकलित १ करोड २० लाख केही दिनमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताए ।उनले पीडितको राहत तथा उद्धारमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै कृषि विकास बैंकबाट ऋण लिएकालाई ब्याज छुटदेखि मिनाह गर्न सकिने सम्भावना रहेको जानकारी गराए ।
प्रतिक्रिया