रुस १८ साउन । यसै सप्ताहन्तमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसमा रहेका आफ्ना कूटनीतिक कर्मचारीको संख्या ७ सय ५० भन्दा बढीले घटाउनुपर्ने बताए । अमेरिका रुस सम्बन्धमा उक्त घटनाक्रमले अनौठो मोड ल्याइदिएको धेरैले ठानेका छन् । रुसमाथि अमेरिकाले हालै लगाएका नयाँ प्रतिबन्ध र अमेरिकी राष्ट्रपति चुनावमा मस्कोले गरेका भनिएका हस्तक्षेपबारे आशंका व्यक्त भइरहँदा पछिल्लो निर्णय आएको हो । तर, धेरैसामु पछिल्ला घटनाक्रमले प्रश्नहरू पनि तेस्र्याइदिएका छन् ।किन मस्कोमा रहेको अमेरिकी राजदूतावास र रुसका अरू ठाउँमा त्यति धेरै मानिस काम गरिरहेका छन् ? केही आँकडाहरूका अनुसार झन्डै १२ सय मानिस रुसमा अमेरिकी सरकारका लागि काम गरिरहेका छन् ।
झट्ट हेर्दा त्यो संख्या उच्च देखिन्छ । तर, ह्वाइट हाउसमा रुससँगको चुनौतीपूर्ण र उतारचढावपूर्ण सम्बन्धलाई व्यवस्थापन गर्न काम गरिरहेका अधिकारीहरूका लागि यो संख्या खासै ठूलो होइन । अमेरिका र रुस केही महत्वपूर्ण क्षेत्रमा मिलेर काम गरिरहेका छन् ।त्यस्ता काममा उग्रवादी समूह नियन्त्रण, दुवै देशमा रहेका पारमाणविक हतियारको सुरक्षा र सिरियामा हिंसाको कमीलगायत पर्छन् । यसबाहेक पनि अमेरिकाले अर्बौं डलर मूल्य पर्ने वस्तुहरू रुसबाट झिकाउने गरेको छ ।उनीहरूबीच कैयौँ विषयमा झगडा पनि चलिरहेको छ । जस्तै अमेरिकी चुनावमा भएको भनिएको रुसी हस्तक्षेप, आफ्नो सीमा क्षेत्र र प्रभाव विस्तार गर्ने रुसी महत्वाकांक्षा लगायतका विषयमा २ पक्षबीच विवाद छ । अमेरिकी अधिकारीहरू भन्छन्, रुसका गतिविधिमाथि निगरानी राख्न र दुई पक्षीय सम्बन्धका विविध पाटाहरूबारे सुसूचित भइरहन मस्कोमा धेरै कर्मचारी आवश्यक पर्छन् । उक्त उद्देश्य पूरा गर्न रुसमा रहेका अमेरिकीहरू विभिन्न क्षेत्रमा र विभिन्न स्थानमा काम गरिरहेका छन् ।
धेरैजना मस्कोमा काम गर्छन् र केही भ्लाडिभोस्टोक, सिन्ट पिटसवर्ग र यकाटारिनवर्गमा कार्यरत छन् । मस्को र अन्य सहरहरूमा अमेरिका यात्रा गर्न चाहने रुसी नागरिकका लागि अमेरिकीहरू प्रवेशाज्ञा अर्थात् भिसा प्रशोधन गरिदिने काम गर्छन् । त्यसबाहेक उनीहरूले मानवअधिकार, श्रम र अरू विषयमा वासिंगटनमा सन्देशहरू प्रवाह गर्ने काम गर्छन् ।उनीहरूमध्ये केही कृषि, विज्ञान र जनस्वास्थसँग सम्बन्धित अभियानहरूमा पनि संलग्न छन् । उदाहरणका लागि कतिपयले दुर्लभ प्रजातिका वन्यजन्तुको संरक्षण तथा संक्रामक रोगहरूविरुद्ध लड्न मद्दत गरिरहेका छन् ।रुसमा काम गर्नेमध्ये केही अरू सरकारी निकाय जस्तै सिआइए र अन्य कतिपय गुप्तचर निकायका लागि पनि काम गर्छन् । अमेरिकी गुप्तचर निकायहरूले रुसमा खटाएका मानिसहरूको संख्या उल्लेख्य छ तर त्यसका विस्तृत विवरणहरू प्राप्त हुँदैनन् । राष्ट्रिय गुप्तचर अधिकारीका रूपमा काम गरेकी जोर्जटाउन युनिभर्सिटीकी एन्जेला स्टेन्ट यो विषयमा प्रश्न गर्दा हाँसिन् ।
उनी भन्छिन्, ‘त्यो कसैलाई पनि थाहा हुँदैन ।’ रुसस्थित अमेरिकी राजदूतावास वा अन्य अमेरिकी कार्यालयमा काम गर्ने अधिकांश गुप्तचर वा गुप्तचर सेवासम्बन्धी जानकारहरू हुँदैनन् । अधिकांश त अमेरिकी नागरिक पनि होइनन् । धेरै रुसी कर्मचारी छन् ।सन् २०१३ मा राजदूतावासमा काम गरेका १ हजार २ सय ७९ मानिसमध्ये ९ सय ३४ जना स्थानीय कर्मचारी भएको एउटा प्रतिवेदनले जनाएको छ । रुसी कर्मचारीहरूले विभिन्न कार्यक्रम आयोजना गर्न, प्रवेशाज्ञाको आवेदन प्रशोधन गर्न, कम्प्युटर मर्मत गर्न र कार्यालय सञ्चालन गर्न मद्दत गर्छन् । उनीहरूका लागि राष्ट्रपति पुटिनको घोषणा समस्याकारी छ । वासिंगटन डिसीस्थित विल्सन सेन्टरका अनुसन्धानकर्ता युभल वेभर भन्छन्, ‘यी मानिसहरूले आफ्नो रोजगारी गुमाउनेछन् ।’ यसको अर्थ रुसीहरूले अमेरिकी यात्राका लागि भिसा पाउनसमेत थप समय कुर्नुपर्नेछ । अहिलेको सामान्य अवस्थामा त त्यसका लागि उनीहरूले २ देखि ५ हप्तासम्म कुर्ने गर्छन् । कर्मचारी कटौती हुँदा थप समय लाग्नेछ ।
प्रतिक्रिया