मेक्सिको १८ साउन । मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेस्टुरेन्टमा गोली प्रहार गरी एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ । लुसिआनो सिभेरा नाम गरेका ती पत्रकार मंगलबार बिहान सबेरै मारिएका हुन् । रोसारिटो सहरको मध्य भागमा रहेको एक रेस्टुरेन्टमा सो घटना भएको महान्यायाधिवक्ता कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । अनुसन्धानको क्रममा उनको हत्यामा संलग्न रहेको आशंकामा अल्फेडो एन नामक एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मारिएका ३३ वर्षीय पत्रकार स्थानीय टेलिभिजन च्यानल सिएनआरका सम्पादक र एक नयाँ वेबसाइटका संवाददाता रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार रिभेरालाई टाउकोमा गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । अपराधीको खोजीको क्रममा प्रहरीले केही संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । गत मार्चदेखि यता मेक्सिकोमा मारिएका पत्रकार रिभेरा आठौँ पत्रकार हुन् । मेक्सिको संसारमा सबैभन्दा धेरै पत्रकार मारिने देशमा पर्दछ । यहाँ बर्सेनि दर्जनौँ पत्रकारको हत्या हुने गरेको तथ्यांक अधिकारवादीले सार्वजनिक गर्ने गरेका छन् ।
प्रतिक्रिया