कराकस १८ साउन । भेनेजुएलामा सम्पन्न संविधानसभाको निर्वाचनपछि झन् विवाद बढेको समाचार छ । सो निर्वाचन विपक्षीले बहिष्कार गरेका थिए । भेनेजुएलाका निर्वाचन अधिकारीले पनि संविधानसभाको निर्वाचनमा जम्मा ४१ दशमलव ५ प्रतिशत मतदान भएको सार्वजनिक गरेका छन् । उनीहरूको सोजानकारीपछि विपक्षी दलले पनि ८८ प्रतिशतले मतदान बहिष्कार गरेको बताएका छन । यहाँका विपक्षी दलहरूले उक्त निर्वाचनलाई अवैध भन्दै आएका छन् ।
यहाँको मुख्य विपक्षी दलले निर्वाचनको नतिजा अस्वीकार गर्दै सोमबारदेखि थप विरोध प्रदर्शनका लागि आह्वान पनि गरिसकेको थियो ।
सोही बमोजिम हाल यहाँ आन्दोलन जारी छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले भने सो निर्वाचनलाई एक क्रान्तिको रूपमा लिएको बताएका छन् । उनले आफूले पाएको मतको स्वागत पनि गरेका छन् । आइतबार सम्पन्न उक्त मतदानका क्रममा व्यापक हिंसा भएको थियो । त्यस हिंसामा परी कम्तीमा पनि १० जना मारिएको समाचार आएको थियो । यहाँ सोमबार पनि दिनभर सडकमा सरकार विरोधी प्रदर्शन र हिंसा भएको छ । यो निर्वाचनलाई विजय मान्न सकिन्छ कि सकिन्न भन्ने बारेमा पनि यहाँ बहस भएको छ ।
राष्ट्रपति मादुरोले उक्त मतदानलाई प्रजातन्त्रको उदाहरणका रूपमा लिएका छन् भने विपक्षीले उनीमाथि धाँधली गरेको र मतदातालाई डर देखाएको आरोप लगाएका छन् ।यसैबीच मंगलबार प्राप्त अर्काे एक समाचारअनुसार यहाँका विपक्षी दलका २ जना नेतालाई पक्राउ गरिएको छ । उनीहरूको पक्राउपछि आन्दोलन थप बढ्ने अनुमान गरिएको जनाइएको छ । ती २ नेता विपक्षी दलका प्रभावशाली नेता भएकोले उनीहरूलाई घरमै नजरबन्द गरिएको जनाइएको छ । उनीहरूलाई प्रहरीले पहरा दिई घरैमा नजरबन्दमा राखिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया