पुस्तौनी रोग, भोक र शोकले थला परेको महोत्तरीको बर्दिबास नगरपालिका–१ को एकीकृत नमुना मुसहर बस्ती ‘नमुना वैज्ञानिक गाउँ’ तर्फ अघि बढेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटार ललितपुरले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ द्वारा निर्मित नमुना मुसहर बस्तीलाई नमुना वैज्ञानिक गाउँ बनाउन कार्यक्रम सुरु गरेको हो ।बस्तीलाई वैज्ञानिक गाउँ बनाउन पहिलो चरणमा नास्टले बस्तीका स्थानीयलाई मुढा बनाउने र सिलाइकटाइ तालिम सञ्चालन गरेको छ । दोस्रो चरणमा बाख्रापालन एवं कृषि खेतीको कार्यक्रम सञ्चालन गर्ने योजना छ । काभ्रेको पोखरी नारायणस्थानको यांगवेल गाउँ र महोत्तरीको एकीकृत नमुना मुसहर बस्तीलाई पहिलो चरणमा नास्टले नमुना वैज्ञानिक गाउँ बनाउन कार्यक्रम लागू गरेको नास्टको नमुना वैज्ञानिक गाउँ कार्यक्रमका संयोजक डा. तीर्थ घिमिरेले बताए ।
जंगलबाट दाउरा ल्याएर जीविकोपार्जन गर्दै आएका १० जना महिलाले मुढा बनाउने तालिम पाएपछि जंगल जान छाडेर मुढा बनाएर आम्दानी गर्दैछन् । ‘घर बसीबसी आम्दानी गर्ने सीप हामीले सिक्यौँ,’ मुढा बनाउँदै गरेकी ३५ वर्षीया आशा सदाले भनिन्, ‘पतिले कमाएको रुपैयाँ वचत हुन्छ । मैले मुढा बेचेर कमाएको रुपैयाँले नुनतेल र छोराछोरीको पढाइ खर्च पुग्छ ।’ आशाका पति बिल्टु सदा एकीकृत नमुना मुसहर बस्ती घुम्न आउने पर्यटकलाई टिकट बेच्ने काम गरेर घरै बसीबसी मसिक १० हजार तलब लिन्छन् । काभ्रेको यांगवेल गाउँ र महोत्तरीको एकीकृत नमुना मुसहर बस्तीलाई नास्टले पहिलो चरणमा नमुना वैज्ञानिक गाउँ बनाउन लागेको हो ।
एक सातादेखि बस्तीका सात जना महिलालाई नास्टले दुई महिने सिलाइकटाइको प्रशिक्षण सुरु गरेको छ । जंगलबाट दाउरा ल्याउने, रातुखोलामा ढुंगा ओसार्ने र दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका महिला लुगा सिउने सीप सिक्दै छन् । ‘सिलाइ गरेर आएको आम्दानीबाट छोराछोरीलाई पढाउने र वचत गर्छु’, सिलाइ सिक्दै गरेकी २२ वर्षीया देवकला सदाको कुरामा अनिता सदाले थपिन्, ‘सिलाइ सिकेर गाउँमै कपडा सिउने पसल खोल्छु । गाउँलेको लुगा सिलाएर जीवन चलाउँछु ।’ नास्टले वैज्ञानिक गाउँ कार्यक्रम सञ्चालन गर्दा त्यसको प्रत्यक्ष पाइदा बस्तीका बालबालिका, किशोरकिशोरी, युवकयुवती, वृद्धवृद्धाहरूले लिइरहेका छन् । अहिले बर्दिबासको मुसहर बस्तीका बासिन्दा देशदुनियाँसँग नजिकिएका छन् ।
देशविदेशको हालखबरबाट बेखर रहने गरेका यहाँका स्थानीयलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्न नास्टले बस्तीको सामुदायिक भवनमा ५० इन्चको एलसिडी जडान गरिदिएको छ । एलसिडीमा डिसहोम जडान गरिएको छ । ‘एलसिडीमा पेनड्राइभ लगाएर बालबालिकालाई प्रविधिको प्रयोग गरेर पढाउँछौँ’, ट्युसन पढाउँदै आएका बस्तीका मञ्जय सदाले भने, ‘गीत बजाएर बालबालिकालाई नृत्य सिकाउँछौँ । समयसमयमा विभिन्न टिभी च्यानल लगाएर बालबालिकाले समाचार हेर्छन् ।’ शिक्षाबाट वञ्चित एक सयभन्दा बढी बालबालिका धुर्मुस–सुन्तलीको प्रेरणाबाट अहिले नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्दै छन् । ‘मुसहर बस्तीका बालबालिकालाई लक्षित गरेर हामीले विद्यालयमा आधुनिक शिक्षा प्रदान गर्न ४८ लाख रुपैयाँ लागतमा बालमैत्री वातावरण निर्माण लागि भौतिक संरचना निर्माण गर्दै छौँ’, विद्यालयका प्रधानाध्यापक दीलिप तिवारीले भने ।
सामुदायिक सूचना नेटवर्कले (सिआइएन)ले बस्तीका ५० वटै घरमा समाचार सुन्न एक÷एक थान रेडियो प्रदान गरेको छ । बस्तीका बासिन्दाले बिहानबेलुकाको समाचार नबिराई रेडियोमा सुन्ने गरेको ४५ वर्षीय वासुदेव सदाले बताए । बस्तीलाई सूचनामैत्री बनाउन युनाइट नेटवर्कले निःशुल्क नेटको व्यवस्थासमेत गरिदिएको छ । बस्ती घुम्न आउने पर्यटकले बस्ती घुमेर विश्रामस्थलमा बसेर थकाइ मार्दै फेसबुक, ट्विटरलगायत समाचारमूलक बेवसाइटसमेत चलाउन सक्नेछन् ।१० वैशाख यता एकीकृत नमुना मुसहर बस्ती अवलोकन गर्न आएकासँग प्रतिव्यक्ति २०÷५० को बस्ती प्रवेशको टिकट बिक्री गरेर एक लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको बस्तीका सदस्य करियामाझी मुसहरले बताए ।
‘हामी यसपटक १० देखि १५ बिघा खेत ठेक्का लिएर धानखेती गर्ने योजनामा छौँ । ब्याड पनि राखिसक्यौँ । संकलित रकममध्ये २० हजार रुपैयाँ खेती गर्न लगानी गरेका छौँ’, उनले भने
प्रतिक्रिया