चितवन, २७ वैशाख । काठमाडौँबाट हेटौँडातर्फ आउँदैैं गरेको ट्रक बुधबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । उद्धार गरिएकामा हेटौंडा उपमहानगरपालिका–१४ का २० वर्षीय सुरज मगर र सोही ठाउँका २१ वर्षीय सोनाम लामा रहेको थापाले बताए।
ट्रक खसेपछि एकजना भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै थापाले ती व्यक्ति चालक भएको आशंका गरिएको बताए। ट्रकको माथिल्लो भाग मात्र देखिएकाले नम्बर खुल्न सकेको छैन । ट्रकमा अन्य पनि हुनसक्ने भन्दै नेपाल प्रहरी र विपत् व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया