‘सङ्घीयता कार्यान्वयन आवश्यक’

भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले संघीयतालाई सहि ढंगले कार्यान्वयन गर्न समयानुकूल परिवर्तन आवश्यक रहेको बताएका छन् । आइतबार सानोठिमीस्थित सिटिईभिटीअन्तर्गत रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २५ वर्षको अवसरमा आयोजित रजत जयन्ती विशेष समारोहमा बोल्दै उनले सिंगो देश यतिबेला संघीयतामा अगाडि बढिरहेको र संघीयता कार्यान्वयनको चरणमा रहेकाले आवश्यकताअनुरुप परिवर्तन गर्दै जानुपर्नेमा जोड दिए ।
सिंगो देश संघीयतामा अगाडि बढिरहेको वर्तमान समयमा शैक्षिक, प्रशासनिक र प्राविधिक क्षेत्रलाई पनि सं्घीय संरचनाअनुरुप परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । नयाँ संरचनाअनुसार दुई ४० निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालाई विस्तार गर्नका लागि सरकारले स्वीकृत प्रदान गरेका सार्वजनिक माविमा आवश्यक प्राविधिक शिक्षाको जनशक्तिको अभाव खड्किरहेको अवस्थामा त्यस्ता जनशक्तिको उत्पादनमा समेत यसले सहयोग पु¥याउने मन्त्री पौडेलले बताए ।
‘प्रतिष्ठानले समयानुकूल आफूलाई परिवर्तन गर्दै लैजानु पर्छ,’ उनले भने । राजनीतिक रुपले बदलिएको परिवेशलाई कार्यान्वयन गर्ने क्रममा सरकार रहेको चर्चा गर्दै उनले २५ वर्ष अगाडि रहेको राजनीतिक पद्धति र आजको पद्धति परिवर्तन भएको बताए ।
राष्ट्र निर्माणका लागि आवश्यक जनशक्ति विकासका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठानले नेपालका जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने र अन्तर्राष्ट्रियस्तरका जनशक्तिलाई नेपालमा ल्याएर नेपालको नाम उच्च राख्न सफल भएको उनको भनाइ थियो ।
कार्यक्रममा मन्त्री पौडेलले प्रतिष्ठानले प्रकाशित गरेको स्मारिका विमोचन गरे । उनले रजत जयन्ती स्तम्भको समेत अनावरण गरे । सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक अकिम श्रेष्ठले प्रतिष्ठान स्थापना भएदेखि २६ हजारभन्दा बढी व्यक्तिलाई प्रशिक्षण दिएको र हजाराँैलाई प्रशिक्षक बनाएर दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताए ।
उनले नेपालको मात्रै नभई भारत, भुटान, बंगलादेश, माल्दिभ्स, तथा युरोपका विभिन्न देशका नागरिकलाई समेत प्रशिक्षण दिने र नेपालीलाई पनि विभिन्न देशमा पठाएर प्रशिक्षण लिने कार्यलाई निरन्तरता दिँदै अझै सेवालाई विभिन्न देशमा विस्तार गर्ने बताए ।
शिक्षा मन्त्रालयका निमित्त सचिव हरिप्रसाद लम्साल, सिटिईभिटीका सदस्य सचिव रमेशकुमार बखती, प्रा डा सुरेशराज शर्मा, प्रा डा गीताभक्त जोशी, सिटिईभिटीका उपाध्यक्ष डा कुलबहादुर गुरुङ, दातृ निकायका प्रतिनिधि डा जोर्ग फ्रिडनलगायतले प्रतिष्ठानले आफ्नो लक्ष्यअनुरुप कार्य गर्दै गएको चर्चा गर्दै प्रशिक्षणको क्षेत्र र विषयलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोदभक्त आचार्यले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, तालिम प्रदान गर्ने, नयाँ विषयको पाठ्यक्रम निर्माणदेखि प्रशिक्षक प्रशिक्षणसमेत गर्दै आएकाले आगामी दिनमा यसलाई अझै विस्तार गर्ने बताए ।

प्रतिक्रिया