काठमाडौं । कांग्रेसका नेता महेश आचार्यले संविधानको रक्षाका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन् । कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको ‘स्थानीय निर्वाचनमा कांग्रेसको भूमिका र चुनौतीहरू’ विषयक विचार गोष्ठीमा सबै दललाई मिलाएर निर्वाचनमा लैजानु नै कांग्रेसको मुख्य चुनौती भएको बताए । उनले भने, ‘हिमाल, पहाड, मधेस मिलाउने मुख्य जिम्मा नेपाली कांग्रेसको हो ।’पूर्वअर्थमन्त्रीसमेत रहेका नेता आचार्यले कांग्रेसले स्थानीय तहका लागि ल्याएको घोषणापत्र समयअनुसार सान्दर्भिक रहेको बताए । उनले कांग्रेसको विचारको राजधानी विराटरनगर भएको भन्दै विराटनगरमा कांग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशनसमेत दिए । नेता डा. मीनेन्द्र रिजालले सिंहदरबारको अधिकार गाँउगाउँसम्म पु¥याउने भएकाले स्थानीय तहको निर्वाचन चाँडो हुनुपर्ने बताए । उनले भने, ‘कांग्रेसले नै निर्वाचनको बारेमा आशंका गरे निर्वाचन नचाहने तत्वलाई फाइदा पुग्छ त्यसैले निर्वाचनबारे आशंका नगरौँ ।’ रिजालले संविधान सबैको स्वीकार्य बनाउनका लागि संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गरेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तहको निर्वाचन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिँदै स्थानीय तह बुझेका व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने बताए । उनले कांग्रेसले निर्वाचन हारे प्रजातन्त्र नै समाप्त हुने बताए । सांसद अमृत अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बुझेको व्यक्तिलाई स्थानीय तहको उम्मेदवार बनाउनुपर्ने बताए । कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले लामो समयदेखि हुन नसकेको निर्वाचन ३१ वैशाखमा हुन लागेको भन्दै निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबै एकजुट हुनुपर्ने बताए ।
सम्पर्क समितिका सभापति विनोदकुमार भट्टराई, समितिका पूर्वसभापति विमल सङ्ग्रौला, मोरङ समाजका अध्यक्ष कृष्णमुरारी कोइरालालगायतले मुलुकमा निर्वाचन गरेर आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया