सतर्कता केन्द्रमा सात सय ७३ उजुरी

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा नौ महिनाको अवधिमा सरकारी कार्यालयमा अनियमितता भएका सात सय ७३ उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये चार सय ८३ उजुरी फछ्र्यौट गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । ०७३ असारसम्म फछ्र्यौट हुन बाँकी रहेका ६ सय २२ उजुरीमध्ये चैत मसान्तसम्म चार सय तीनको किनारा लगाइएको छ । नौ महिनाको अवधिमा कूल आठ सय ८६ उजुरी फछ्र्यौट भएको प्रवक्ता लामिछानेले बताए । ‘उजुरी परेकामध्ये छानबिनका क्रममा ६ सय ८५ को कुनै सत्यता पाइएन, यी उजुरीको छानविनका क्रममा कुनै प्रमाण प्राप्त हुन सकेन’ उनले भने ।
केन्द्रमा परेका उजुरीलाई मन्त्रालयगत रूपमा विभाजन गर्दा शिक्षा मन्त्रालय र अन्तर्गतका निकायको सबैभन्दा बढी एक सय ८२ उजुरी परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक राहत कोटा, विद्यार्थी संख्याका आधारमा वितरण गरिने पाठ्यपुस्तक, खाजाको पैसामा अनियमितता हुने गरेको उजुरी पर्ने गरेको निगरानी तथा अनुगमन शाखा प्रमुख कमलप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया