काठमाडौं । कांग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन् । जनताले पत्याएको पार्टीका रूपमा कांग्रेस स्थापित भइसकेको उनीहरूले दाबी गर्दै ०७० सालको संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गरेका छन् । अखण्ड नेपाल पार्टी समानान्तरको कांग्रेसमा प्रवेश कार्यक्रमलाई आज पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिको ०७२, ११ माघको बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आप्mनो पार्टीलाई कांग्रेसमा प्रवेश गर्न दिएको निवेदनलाई अनुमोदन गरेको थियो । संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजारभन्दा बढी सो पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।
सभापति शेरबहादुर देउवाले कांग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रूपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवं सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भने ।
उनले शान्ति, प्रजातन्त्रका लागि कांग्रेसले सात सालदेखि जनताको अधिकारका लागि अनवरत रूपमा संघर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्ननयका लागि काम गर्ने बताए ।
सो अवसरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।
सो अवसरमा वरिष्ठ नेता पौडेलले आसन्न स्थानीय निकायको निर्वाचनमा तराई–मधेसवादी दलको सहभागिता गराउन पार्टीले अन्तिम प्रयास जारी राखेको चर्चा गर्दै ती दलले उठान गरेका माग सम्बोधन गर्न पार्टी सकारात्मक छ भने ।
उनले निर्वाचनमार्फत राजनीतिक स्थायित्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने उल्लेख गरे ।
महामन्त्री डा.कोइरालाले निर्वाचनलाई आफ्नो पार्टीले प्रतिष्ठाको विषय बनाएको हुँदा गत संविधानसभाको निर्वाचनमा जनताले दिएको विश्वास आगामी निर्वाचनमा समेत प्राप्त हुने विश्वास व्यक्त गरे ।
कोषाध्यक्ष यादवले राष्ट्रियता, प्रजातन्त्र र समाजलाई बलियो बनाउँदै देशलाई समृद्ध बनाउन कांग्रेसको स्थानीय तहमा नेतृत्व आवश्यक रहेकोमा जोड दिइन् । केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले संविधानलाई सर्वस्वीकार्य र जीवन्त बनाउन पार्टीले अग्रणी भूमिका निर्वाह गरेको बताए । संयोजक पाण्डेले आगामी दिनमा नेकाको आदर्श र सिद्धान्तलाई पालना गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया