चक्रपथ सफाइ अभियान सुरू

काठमाडौं । वाग्मती सफाइ महाअभियान सुरू भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरू भएको छ । वाग्मती सफाइ महाअभियान दुई सयौँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले जारी गरेको १० बुँदे घोषणा पत्रबमोजिम शनिबारदेखि घर, टोल सफाइ अभियान चक्रपथको ग्रिनसिटी अस्पतालबाट सफाइ अभियान सुरू गरिएको हो ।
सफाइको सुरू गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घर टोल सफा नभएसम्म नदी नाला सफा नहुने भएकाले यो अभियान सुरू भएपछि उपत्यकाका नदीनाला सफाइमा सहयोग पुग्ने बताए । पूर्वसचिव एवम् वाग्मती सफाइको संयोजन गरिरहेका किशोर थापाले उपत्यकाका सडक सफा नभए त्यो फोहर नदीमै जाने भएकाले चक्रपथ सफाइ सुरू गरिएको बताए । सफाइमा १० मेट्रि«क टन फोहर व्यवस्थापन गरियो ।
यसैगरी उपत्यकाका प्रमुख नदीबाट पनि १३ मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको दुई सय पाँचौँ हप्तामा शनिबार बुद्धनगरमा सफाइ गरी १० मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परेपनि सफाइमा तीन सयभन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए ।
रूद्रमती सफाइको १६४ औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरियो । त्यस अवसरमा बाटाको फोहरसमेत सफाइ गरिएको थियो । यहाँबाट एक मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।
विष्णुमती सफाइको एक सय ३६ औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुलमा जनचेतनामूलक घरदैलो अभियान चलाइयो । गुह्येश्वरमाथिको वाग्मतीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजले गरेको एक सय ६६ औँ हप्ताको सफाइमा पनि एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो ।
तिलगंगा महिला समूहले पशुपति क्षेत्रमा गरेको एक सय १३ औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो ।

प्रतिक्रिया