काठमाडौं । द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि मात्र हालसम्म सात हजार दुई ४४ क्युफिटभन्दा बढी काठ उपलब्ध गराइसकेको जनाएको छ । टिम्बर नेपाली सेना (घोडा तबेला) को पुनर्निर्माणका लागि तीन हजार क्युफिट र नेपाली सेना भवन निर्माणमा तीन सय क्युफिट, गोरखाको मनकामना मन्दिरका लागि पाँच सय क्युफिट, काठमाडौंको सनातन इस्ट देवता गुठीका लागि एक सय क्युफिट, काठमाडौंको नेपाली मधेसी निजामती कर्मचारी मञ्च भवन निर्माणमा पाँच सय क्युफिट काठ उपलब्ध गराइसकेको छ ।
त्यस्तै स्याङ्जाको खिलुंग कालिका मन्दिर निर्माणमा एक सय ५० क्युफिट, काठमाडौंको लुजुभुलु अजिमा गुठीका लागि चार सय ९९ क्युफिट, ललितपुरको करुणमय पीठ मन्दिरको लागि ६ सय क्युफिट, तलेजु भवानी मन्दिरलाई तीन सय ४५ क्युफिट, वाचन शिरोमणि नारायण पोखरेल स्मृति प्रतिष्ठानका लागि पाँच सय क्युफिट, काभ्रेको पशुपति मन्दिर निर्माणमा सय क्युफिट, दक्षिणकालीको धार्मिक तथा सांस्कृतिक सम्पदा समितिलाई दुई सय क्युफिट र तनहुँको गलेश्वर आश्रमका लागि चार सय ५० क्युफिट काठ उपलब्ध गराइसकेको टिम्बरका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।
पुरातत्व विभागबाट टिम्बरमा हालै मात्र काष्ठमाण्डप पुनर्निर्माणका लागि १७ हजार ३८ क्युफिट, सेतो मच्छिन्द्रनाथको लागि तीन हजार दुई सय ६८ क्युफिट, जुम्लाको चन्दननाथ मन्दिरका लागि दुई सय ७७ क्युफिट र नुवाकोटको भैरवी मन्दिर पुनर्निर्माणका लागि एक हजार चार सय ५० क्युफिट काठ आपूर्ति गर्न सिफारिसपत्र आएको महाप्रबन्धक लौडारीले बताए ।
यसबाहेक टिम्बरले मंगलबार मात्र गोरखाको लाप्राकका ६ सय निजी घर निर्माणका लागि २७ हजार तीन सय क्युफिट काठको मागपत्र आएको जनाएको छ । टिम्बरले उक्त सबै काठ पुनर्निर्माणका लागि पाइने सहुलियत दर अर्थात् प्रतिक्युफिट दुई हजार चार सय २५ का दरले उपलब्ध गराएको उनले जानकारी दिए ।
टिम्बरले सामान्य अवस्थामा भने काठको आकार हेरी प्रतिक्युफिट न्यूनतम दुई हजार एक सय ६० देखि तीन हजार एक सयका दरले बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया