काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताएका छन् । प्रविधि पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘प्रविधियुक्त टेलिभिजनको आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘मन्त्रालयअन्तर्गतको अलग्गै विभाग बनाउन आवश्यक छ’, उनले भने ‘अनि विभागले टेलिभिजन र रेडियोको सबै काम गर्छन् ।’ मन्त्री कार्कीले संसारमा बढिरहेको प्रविधिको गतिअनुसार नेपालमा तयारी नभएको विचार व्यक्त गरे ।कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले ०७४ साल १५ वैशाखसम्म महानगर र ०७५ साल १५ वैशाखसम्म देशभरिका सबै केबल टेलिभिजनलाई प्रविधियुक्त टेलिभिजनमा लैजाने जानकारी गराए । मन्त्रालयले केबल टेलिभिजनलाई प्रविधियुक्तमा लैजानका लागि ०७१ कात्तिकबाट केवल टेलिभिजनको सञ्चालनको अनुमतिपत्र बन्द गरेको छ । कार्यक्रममा केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले प्रविधिको युगमा केबल टेलिभिजनको विकल्पमा प्रविधियुक्त टेलिभिजनको आवश्यकता रहेको बताए ।
प्रतिक्रिया