काठमाडौं । कांग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा ग्रामीण क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्राथमिकता साथ निर्वाचनमा होमिने रणनीतिमा छ ।
आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा निर्वाचन माहौल बनाउन कांग्रेसले हाल विभिन्न समिति र उपसमिति बनाएर युद्धस्तरमा तयारी थालेको जनाएको छ । घोषणापत्र तयारी समितिका संयोजक एवं पार्टीका नेता महेश अचार्यले निर्वाचनमा पार्टीले स्थानीय पूर्वाधार, कृषि, पर्यावरण, पानी, माटो, सिँचाइ, सडक निर्माणका विषय तथा ज्येष्ठ नागरिक, असहाय महिला, बालबालिका, जनताका दैनिक जीविकोपार्जनका मुद्दा सम्बोधन गर्ने योजनाका साथ जाने बताए ।
उनले भने, ‘अब बन्ने स्थानीय सरकार हिजोको गाविस र जिविसजस्तो नभई कार्यकारी अधिकार, कानुन बनाउने र प्रारम्भिक न्याय सम्पादन तथा मेलमिलाप गर्ने अधिकारसहितको हुने भएकाले कांग्रेसले पनि तिनै विषयमा जोड दिई तल्लो तहमा लोकतन्त्रलाई सुदृढ बनाउँदै लैजाने छ ।’ स्थानीय समुदायको पहिचान र प्रतिनिधित्वको सुनिश्चितताका लागि स्थानीय ग्रामीण क्षेत्रको संरचनाजस्तै नेतृत्वको विकास गर्न तथा योजना र विकास छनोट गर्ने विषय पार्टीले प्राथमिकतामा राखेको जनाएको छ ।
स्थानीय ऐतिहासिकस्थलको संरक्षण, प्राकृतिक स्रोत साधनको संरक्षणमा स्थानीय जनताको सहभागिता, स्वामित्व र अनुगमनले मात्र प्रभावकारी हुने हुँदा त्यस्ता विषयलाई प्राथमिकता साथ घोषणा पत्रमा समेटिने उनको धारणा थियो । पार्टीले यस निर्वाचनमा सबै तहमा उम्मेदवार चयन गर्ने सम्पूर्ण अधिकार संयन्त्रमार्फत पार्टीका स्थानीय निकायलाई नै प्रत्यायोजन गरेको छ । साथै ७ वैशाखभित्र सबै तहका उम्मेदवार चयन गरिसक्न पार्टीले निर्देशन दिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।
तराई–मधेसका समस्या सम्बोधन गरेर सबै दललाई निर्वाचनमा आउने वातावरण बनाउन सके मात्र मुलुकको राष्ट्रियता बलियो हुने नेता यादवको धारणा थियो । दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसले तराईका जिल्लामा सबैभन्दा बढी निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो । निर्वाचनमा आफ्नो माहोल बनाउन पार्टीले सबै एकाइ, भ्रातृ, शुभेच्छुक र पेसागत संस्थालाई परिचालन गरिसकेको छ । कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र संविधानको स्वीकार्यता बढाउन तराई–मधेसको समस्या समाधानका लागि नेतृत्व लिइरहेकोलगायत विकास निर्माणका लोकप्रिय कार्यक्रमका साथ जनतामाझ जाने रणनीतिमा पार्टी रहेको अर्का केन्द्रीय सदस्य रमेश रिजालले बताए ।
उग्रवामपन्थी र उग्र दक्षिणपन्थीको अतिवादबाट मुलुकलाई जोगाएर लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न पार्टीले अग्रसरता लिइरहेको प्रसंग उल्लेख गर्दै नेता रिजालले भने, ‘संविधान संशोधनका विषयमा सीमांकनको विषयलाई आयोगमार्फत टुंग्याउने र अन्य विषय पारित गराई मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने योजनामा कांग्रेस छ ।’
कांग्रेसले यही चैत मसान्तभित्र घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार हुने गरी विभिन्न तहमा छलफल सुरु गरेको छ । घोषणा पत्रका बारेमा विभिन्न तह र संस्थासँग सुझाव संकलन गरिसकेको समितिले छलफलका लागि २५ चैतमा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । समितिले केन्द्रको घोषणा पत्रलाई आधार मानेर स्थानीय स्तरको आवश्यकता र परिस्थितिलाई मनन गरेर स्थानीय तहमा छुट्टै घोषणापत्र बनाउन सकिने बारेमा छलफल गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीको प्रचारप्रसारका लागि सबै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त कार्यक्रमअनुसार प्रदेश नं ७ को कैलालीमा यही २७ चैत, प्रदेश नं ५ को दाङको तुलसीपुरमा २८ चैत र रूपन्देहीमा २९ चैत, प्रदेश नं ४ को कास्की, पोखरामा ३० चैत, प्रदेश नं २ को धनुषा, जनकपुरमा ३१ चैत र प्रदेश नं १ को झापामा आगामी २ वैशाख आमसभा गर्ने तयारी भएको छ । त्यस्तै प्रदेश नं ३ र प्रदेश नं ६ को आमसभाको स्थान र मिति पछि तय गर्ने पार्टीले जनाएको छ । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सात सय ४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्न तयारी थालेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचारप्रसार समन्वय उपसमितिले पहिलो चरणमा पार्टीका जिल्ला सभापतिको संयोजनमा जिल्लास्तरीय समिति र त्यसपछि सबै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने उपसमिति संयोजक एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए ।
उपसमितिले कांग्रेस केन्द्रीय कार्यालयमा निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि, सूचना र जानकारी सञ्चारमाध्यमलाई सहज र दु्रतरूपमा उपलब्ध गराउन सुविधा सम्पन्न केन्द्रीय मिडिया सेन्टर स्थापना गर्ने तयारी थालेको छ । मिडिया सेन्टरमा दिनहुँ जिल्लास्तरदेखि केन्द्रसम्मका श्रव्यदृश्य र प्रेस विज्ञप्ति अत्याधुनिक प्रविधिबाट द्रुतगतिमा सञ्चारमाध्यमलाई उपलब्ध गराइने उनले जानकारी दिए ।
प्रतिक्रिया