काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रूपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ । समाजले यहाँ आज पत्रकार सम्मेलन गरी ‘घरेलु कामदारसम्बन्धी निर्देशिका २०७२’ अध्ययन नै नगरी घरेलु कामदार पठाउने कार्य बन्द गर्न निर्देशन दिइएको जिकिर गरेको छ । समाजका अध्यक्ष किरण प्रधानले निर्देशिकाअनुसार जाने कामदार पूर्णरूपमा सुरक्षित हुने भए पनि त्यो बाटो बन्द गर्दा भारत, श्रीलंका हुँदै अवैध ढंगले जानेको संख्या ह्वात्तै बढ्ने टिप्पणी गरे । समाजमा आबद्ध ३० भन्दा बढी मेनपावरले घरेलु कामदार पठाउनका लागि अनुमति लिनकै लागि २५ लाख रुपैयाँका दरले वैदेशिक रोजगार विभागमा रकम जम्मा गरेको उनले जानकारी दिए ।
उनले भने, ‘अवैधानिक ढंगले अहिले लाखभन्दा बढी महिला खाडीका विभिन्न राष्ट्रमा घरेलु कामदारका रूपमा काम गरिरहेका छन् । त्यसलाई व्यवस्थित गरेर वैधानिक ढंगबाट लैजान खोज्दा श्रम समितिले बन्द गर्न निर्देशन दिनुले फेरि पनि अवैध ढंगले कामदार जाने अवस्थाको निर्माण गर्छ ।’ निर्देशिका अनुसार पठाएका कुनै पनि कामदारले कुनै समस्या भोग्नु नपरेको उनको भनाइ छ । उनले भने, ‘खाडीका राष्ट्रमा अहिलेसम्म जम्मा एक सय ३० जनाले मात्रै निर्देशिकाअनुसार मेनपावरमार्फत वैधानिक ढंगले घरेलु कामदारका रूपमा गएका छन्, उनीहरूलाई कुनै अप्ठ्यारो आइपरेको अहिलेसम्म कुनै गुनासो आएको छैन ।’
समाजका महासचिव डिबी तामाङले अहिले दिनहुँ एक हजार महिला अवैध ढंगबाट खाडीमा गइरहेको र तिनलाई व्यवस्थित गरेर पठाउन खोज्दा समितिले हस्तक्षेप गरेको बताए । उनले भने, ‘श्रम समितिको निर्णयपछि अवैध ढंगले खाडीमा घरेलु कामदारका रूपमा जान पूर्णरूपमा रोक्न सक्नुपर्छ । नभए त्यसरी जानेको जिम्मा श्रम समितिले लिनुपर्छ ।’ अवैधानिक ढंगले पठाइरहेकाले चलखेलका आधारमा समितिलाई प्रभावमा पारी वैधानिक ढंगबाट पठाउन रोक लगाउने निर्णय गराएको उनले आरोप लगाए । संसदीय समितिले यही २० चैतमा खाडी राष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारले निर्देशन दिएको थियो ।
प्रतिक्रिया