बिस्केट जात्रामा कडा सुरक्षा हुने

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तन्त्रोक्त विधिअनुसार मनाउने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ ।
जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको छ भने भद्रकालीको रथ निर्माण भइरहेको छ । जात्राका लागि आवश्यक ५५ हात लामो लिंगो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट लिंगो उठाउने स्थान ल्योसिँखेलमा ल्याई पु¥याइएको छ ।
यस वर्ष २८ चैतदेखि सुरु हुने सो जात्राका लागि २७ गतेसम्म रथ निर्माण, रंगरोगनलगायत सम्पूर्ण काम सक्ने गरी काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ । जात्राका लागि २५ देखि ३० लाख रुपैयाँ लाग्ने अनुमान कार्यालयको छ । जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सिडिओ द्रोण पोखरेलको नेतृत्वमा जात्रा सञ्चालक, पुजारी, नाइके, गुठी संस्थान, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, स्थानीय समाजसेवी एवं सरोकार भएका निकाय र स्थानीय क्लबसँग पटक पटक छलफल भइरहेको छ ।
सौरमास (विसं) का आधारमा चल्ने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ । लिच्छवि कालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवको मूल मूर्ति र रथको अगाडि बेताल भैरवलाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट माथिल्लो र तल्लो टोलमा रथयात्रा गराउने परम्परा छ ।
भूकम्पका कारण रथ लैजाने मार्गका धेरै घर अझै पनि टेकोमा अड्याइएको कारण त्यस्ता घर नोक्सान नहोस् भनेर यस वर्ष भैरवको रथ लैजाने मार्ग छोट्याइने भएको छ । सोअनुसार तौमढीबाट माथिल्लोपट्टि क्वाछेँसम्म र तल्लोपट्टि बोलाछँेसम्म मात्रै रथ लैजान दिइने छ । सुरुको दिन तौमढीमा रथ तानिने, चैत मसान्तमा ल्योसिँखेलमा इन्द्रध्वजसहितको लिंगो उठाइने, १ वैशाख दिनभर लिंगो जात्रा गरी साँझ लिंगो ढालिने र ५ वैशाख तौमढीमा भैरवको रथ तानिन्छ ।
सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।
जात्रा शान्तिपूर्ण बनाउनका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक पर्दा नेपाली सेनासमेत गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने एसपी किरण राणाले बताइन् ।
चोक चोकमा बत्ती र सिसी क्यामरा जडान गरिने भएकाले यस वर्ष ढुंगा हान्ने व्यक्तिको सहजै पहिचान गर्न सकिने बताउँदै उनले जात्रामा ढुंगा हान्ने, हुलहुज्जत गरी जात्रा बिथोल्न खोज्ने, झगडा गर्ने गराउने जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिइन् । ‘सिसी क्यामराका साथै सादा पोसाकमा प्रशस्त मात्रामा प्रहरी खटाई त्यस्ता व्यक्तिको निगरानी गरिने छ र त्यस्ता व्यक्तिलाई जात्रा स्थलबाटै पक्राउ गरिने छ’, उनले भनिन् ।
विगतमा तौमढीबाट रथ तान्न सुरु भएपछि माथिल्लोपट्टिकाले सके दत्तात्रयसम्म र तल्लोपट्टिकाले नासमनासम्म लैजाने परम्परा रहेको थियो । पहिले जात्रामा मादक पदार्थ खाएर हिंसात्मक गतिविधि हुने, झगडा हुने, जात्रामा ढुंगा हानाहान हुने भएकाले यस वर्ष जात्रा सञ्चालन हुने क्षेत्रमा पूर्णरूपमा मदिरा पसल एवं खुला मदिरा बिक्री बन्द गराइने छ ।
मध्यपुरथिमिमा हुने बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मध्यपुरथिमि नगरपालिकाले प्रहरी, स्थानीय राजनीतिक दल र सञ्चारकर्मीसँग छलफल गरेको छ । जात्रा सञ्चालनस्थल र मार्गको अनुगमन गरेर आवश्यक तयारी भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।
विशेषगरी थिमिमा २ वैशाखमा हुने २८ खटसहितको सिन्दूर जात्रा र बोडेमा हुने जिब्रो छेड्ने जात्राका लागि सुरक्षा एवं अन्य आवश्यक तयारी गरिएको छ । खट लैजाने क्षेत्र एवं मार्गमा भूकम्पका बखत थुपारिएको भग्नावशेष हटाइने, जात्रा अवधिभर बत्ती ननिभ्ने व्यवस्था गरिने, सडक बत्ती यथावत् राखिने, सडक मर्मत गरिने, खानेपानीको व्यवस्थापन गरिने, टेलिकम र विद्युत्का लत्रिएका तार व्यवस्थापन गरिने जस्ता कार्यका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको ज्ञवालीले बताए ।

प्रतिक्रिया