भक्तपुर । बहुअपांगता भएका बालबालिकालाई विद्यालयसम्म ल्याउन र पु¥याउन सहज होस् भन्ने उद्देश्यले ‘मद्दत नेपाल फाउन्डेसन हल्यान्ड’ नामक संस्थाले भक्तपुरका एक विद्यालयलाई शुक्रबार स्कुल बस हस्तान्तरण गरेको छ । भक्तपुर नगरपालिका–१५ इन्द्रायणीस्थित समुदायमा आधारित पुनःस्थापना संस्था (सिबिआर) भक्तपुरलाई सो बस उपलब्ध गराइएको हो । बहुअपांगता भएका बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउनका लागि २५ लाख २० हजार मूल्य पर्ने बस उपलब्ध गराइएको सो संस्थाले जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष हेम्मी क्लेभिसले भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच सिबिआरका उपाध्यक्ष सुरेश प्रधानलाई सो बसको साँचो हस्तान्तरण गरे । सिबिआरले बहुअपांगता भएका बाबालिकालाई पढाउने गर्दछ । सो अवसरमा अध्यक्ष क्लेभिसले तीन वर्षसम्मका लागि उक्त बसका चालक, सहयोगी, तेल र मर्मतसम्भारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने घोषणासमेत गरे ।उनले घरआँगनसम्म गाडी नपुग्दा सिबिआरस्थित विद्यालयमा आउन नसकेका बहुअपांगता भएका बालबालिकाको सुविधाका लागि उक्त सहयोग गरिएको बताए । त्यस्तै फाउन्डेसनकै पाउली जेरिक्सनले बहुअपांगता भएका बालबालिका घरमा बस्दा आमाले भोग्नुपर्ने समस्या र पीडा भयावह र व्यक्त गर्न नसकिने हुने आफूले बुझेको बताए । उनले भूकम्पपछि नेपाल आउँदा बहुअपांगता भएका बालबालिका र उनका आमाहरूको जीवन झन् कष्टकर बनेको आफूले देखेको स्मरण गरे ।
भक्तपुरका पर्यटन व्यवसायी चूडामणि कायस्थले मद्दत नेपाल फाउन्डेसनलाई सिबिआरको सम्पर्कमा ल्याएका हुन् । उनकै पहलमा दुई वर्षअघि सिबिआरमा बहुअपांगता भएकाका लागि स्कुल भवन र अहिले स्कुल बस सहयोग प्राप्त भएको हो । सिबिआरका उपाध्यक्ष सुरेश प्रधानकाअनुसार गाडी सुविधा नहुँदा करिब २१ जना बहुअपांगता भएका बालबालिका स्कुलसम्म आउन सकेका छैनन् ।
मद्दत नेपाल फाउन्डेसनले यसअघि करिब ३५ लाखको लागतमा बहुअपांगता भएका बालबालिकाका लागि सिबिआर, भक्तपुर परिसरमै विद्यालय निर्माण गरिदिएको थियो ।
प्रतिक्रिया