ग्रामीण भेगका सरकारी कर्मचारीलाई समस्या नै समस्या

काभ्रे, १३ माघ । भौगोलिक विकटताको कारण काभ्रेको केही गाविसहरूमा अझै मोटरबाटो, सञ्चारलगायत विकासको पूर्वाधार पुग्न सकेको छैन । काभ्रे सदरमुकाममा बसेर यसो भएन, उसो भएन, यसो गर, उसो गर, भन्नेहरूले एकफेर बस्तुस्थिति बुझेर मात्र अर्डर गर्नु फलदायक मानिने गाउँमा खटिने गरेका कर्मचारी बताउँछन् ।

सरकारले गाविसको लागि खटाएका कर्मचारीहरू भूकम्पपछि कस्तो हालतमा बस्दै छन् कुनै निकायले पनि यसमा चासो लिन चाहँदैन भन्ने आरोप लगाउँछन् उनीहरू । यस्तै चपेटामा वर्षौंदेखि पिल्छिएका साल्धाराका स्थानीयलाई केही सिफारिस चाहिए लामो पैदल हिँड्दै दुई विकल्पका बाटोहरू कलङसिङहुँदै वा भर्खरै केही महिनाअघि सडक सञ्जाल जोडिएको तालढुंगा हुँदै काठमाडांै निस्किएर सदरमुकाम आउनुपर्ने तीतो यथार्थ डाँडापारी बासीहरूको लागि कुनै नौलो कुरा होइन । सरकारले स्थानीयहरूका लागि भनेर सचिवहरू गाविसै पिच्छे खटाएको छ । तर, उनीहरू कहाँ कसरी सेवा दिँदै होलान ? गाउँगाउँमा परिषद्हरू चल्दै गरेको समयमा स्थानीयको गुनासो सल्लाह सुझाव सुन्ने निकाय मौन बसेको आभाष स्थानीयहरू गर्ने गर्छन् । यतिबेला गाउँ परिषद् हुँदा सबै कुराहरू बहस हुने गर्दछन् तर, ती कसरी बहसमा मात्रै सीमित बन्दैछन् भन्ने कुरा पनि खोजीको मुख्य विषय भएको उनीहरू ठान्छन् ।

सदरमुकाम केन्द्रित कार्यक्रमहरू एनजिओहरू किन यस्ता ठाउँसम्म पुग्न हिच्किचाउँछन् ? उनीहरू भन्छन्, ‘हामीलाई समान सेवा सुविधा दिइयोस् ! अरू गाविसहरूमा जस्तै हाम्रोमा पनि हरेक खाले सेवा सुविधाहरू दिइयोस्’ साल्धाराका महेश रानाले भने, ‘हामीलाई प्राकृतिकले ठगेको भए पनि मानिसहरूले पनि ठगिदिँदा आपूmहरूको आधार हराएको महसुस हुन्छ’ ।

यता गत १२ वैशाखको महाभूकम्पले क्षतविक्षत भएका संरचनाहरू कस्ता अवस्थामा होलान त्यहाँ खटिएका सरकारी तवरका व्यक्तिहरू कसरी चिसोमा रात कटाउँदै होलान यसको सुनुवाई गर्ने निकाय को ? साल्धारा गाविसका स्वास्थचौकी इन्चार्च रामरतन यादव भन्छन, ‘यसपाली गाविसको बजेट २ लाख ५० हजार परेको छ, केही भग्नावशेष उठाउँदैमा सकिन्छ भवन बनाउने र नयाँ भवनबाट सेवा सुविधा दिन मृगतृष्णाको विषय बन्ने हो कि भन्नेमा चिन्तित छु’, हामी हाम्रो पुरानो भत्केकै भवनमा बस्दै आएका छौँ सेवाको लागि एउटा गोठ मासिक हजार भाडामा लिएर राखेका छौँ, भुइँमा सुतेर सेवा दिइरहेको गुनासो गर्दै उनले भने थप आएका कर्मचारीहरूलाई देउरालीमा बस्न समस्या छ ।

वडा ३ मा गाविस केन्द्रबिन्दु भएर रहेका संस्थाहरू पनि त्यहाँ सामान्य पसल र सेवा सुविधासमेत नहुँदा उनीहरू पनि कठिन परिस्थितिको सामना गर्न विवश छन् ।

स्थानीयहरूले पनि सो क्षेत्रलाई भौगोलिक आधारमा केन्द्रबिन्दु माने पनि वडा नम्बर ६, ७, ८ र ९ लाई सो ठाउँमा आउन कठिन छ केहि त सिधै ताल तालढुंगा नै पुग्ने गरेका छन् ।

भने १, २, ३, ४ र ५ वडामा सामान्य पसलसमेत पनि नहुँदा र भएका पसलहरू पनि मानिसले सामान ४ घन्टाको लामो बाटो बोकेर राख्ने गरेकोले महँगो मूल्य तिर्न पनि उनीहरू बाध्य छन् । गाविसमा उत्पादन भएका सामानहरू बेच्न पनि कठिन छ भने सामान ल्याउन उनीहरूलाई पहिल्यैदेखिको संकट छ । कर्मचारीहरूले पनि सो ठाउँमा बस्ने आवासदेखि शौचालयसम्मको सेवा सुविधासमेतबाट वञ्चित हुनुपरेको पीडा पोखे ।

उनीहरू भन्छन्, ‘गाउँमा बस्नै संकट छ, हामी त जेनतेन बसेर सेवा सुविधा दिइरहेका छौँ माथि जिल्लामा रहेका साथीहरूले केहि बस्तुस्थिति नै नबुझी यसो गर उसो गर भन्दा गर्न साह्रै अप्ठेरो छ ।’

जिल्लाको सदरमुकाम आसपासमा ध्यान जाने निकायहरूले एकफेर डाँडापारिका गाविसहरूको सरकारी अफिसहरूको हालत बुझ्न उनीहरूले पटक–पटक बुझ्न आग्रह गरेको तर सुनवाइ नभएको गुनासो छ ।

प्रतिक्रिया