उदयपुर, १३ माघ । स्वास्थ्यमन्त्री गगन थापाले जिल्ला अस्पताल उदयपुरको अस्पताल विकास समिति अध्यक्षमा नियम मिचेर एक ठेकेदारलाई नियुक्त गरेका छन् ।
मन्त्री थापाले त्रियुगा नगरपालिका–२ का निर्माण व्यवसायी राकेश खत्रीलाई समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । खत्रीको नियुक्ति स्वास्थ्य मन्त्रालयसम्बद्ध ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड–२०७३’ विपरीत छ । मापदण्डमा नियुक्ति तथा मनोनयनको अयोग्यतासम्बन्धी बुँदा नम्बर (ङ) मा सार्वजनिक निकायसँग कुनै ठेक्कापट्टा सम्झौता गरी काम गर्दै आएको व्यक्ति पदाधिकारी तथा सदस्यमा नियुक्ति वा मनोनयनका लागि अयोग्य ठहरिने उल्लेख छ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका खत्री रौताहा कन्स्ट्रक्सनका प्रतिनिधि हुन् । उनी बाबु अमर खत्रीको प्रतिनिधिका रूपमा जिल्लाभित्र र बाहरिका योजनाहरूमा प्रत्यक्षरूपमा संलग्न छन् । उनले नै नामेटार र हर्देनी स्वास्थ्य चौकीको भवन निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गाईघाटका इञ्जिनियर ब्रह्मदेव चौधरीले बताए । ‘हामीले रौताहा कन्सट्रक्सनलाई २ वटा स्वास्थ्यचौकीको भवन निर्माण निर्माणको ठेक्का दिएका छौँ,’ चौधरीले भने ।
सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय राजविराजसँग २०७१ असोज ८ मा नामेटार स्वास्थ्य चौकी भवनका लागि भएको ठेक्का सम्झौतामा रौताहा कन्स्ट्रक्सनको तर्फबाट प्रतिनिधिका रूपमा राकेश खत्रीलाई नै कार्यादेश दिइएको छ । आफू निर्माण व्यवसायी नै भएको खत्री स्वयं स्वीकार्छन् । ‘मैले काम गरेर खाने पेसा भनेको निर्माण व्यवसाय हो,’ उनले भने, ‘निर्माण व्यवसायी हुँदैमा अस्पताल विकास समितिको अध्यक्ष हुन नपाइने भनेर कहाँ लेखेको छ ? मलाई त्यो देखाइदिनु ।’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूले दुई वटा स्वास्थ्य चौकी भवन निर्माण गरिरहेको पनि स्वीकारे । नयाँ मापदण्ड आएपछि मुलुकभरीका ८७ अस्पताल विकास समितिमध्ये अघिल्लो निर्णयमा २९ वटामा अध्यक्ष मानोनीत गरिएको थियो भने, पछिल्लोपटक गत शुक्रबार १५ जनालाई मनोनीत गरिएको हो ।
प्रतिक्रिया