दमक, १२ माघ । विश्व खाद्य कार्यक्रमअन्तर्गत प्राप्त हुँदै आएको रासन कटौती गरिएपछि भूटानी शरणार्थीहरू आन्दोलित बनेका छन् । सोमबारदेखि रासन कटौती गरिएपछि झापाको दमक र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका ११ हजार बढी शरणाथी समस्यामा परेका छन् ।
शरणार्थीहरूले यसअघि २८ दिनका लागि प्रतिव्यक्ति ९ किलो ३ सय ८० ग्राम चामल पाउँदै आएकोमा अब ५ किलो ६ सय ग्राम मात्र दिने भएको छ । पछिल्लो निर्णय अनुसार वितरण गर्दा प्रतिछाक सय ग्राम पर्न आउँछ । विश्व खाद्य कार्यक्रमले कटौती गरेपछि क्याम्प व्यवस्थापन समितिले रासन बाँढ्दै आएका करिब ५ सय शरणार्थी स्वयंसेवकलाई समेत काम नगर्न निर्देशन दिएको छ । जसका कारण शरणर्थीहरूले पाउनुपर्ने राहत पनि पाउन सकेका छैनन् ।
यसअघि २८ दिनका लागि राहत लगेका शरणार्थीले ३० दिन बितिसक्दा पनि चामल नपाएपछि बिहान–बेलुका चुलो बाल्नै मुस्किल भएको छ । बेलडाँगी शिविर ए ४ हट नम्बर ९३ की फूलमाया तामाङको परिवारले २८ दिनका लागि पाएको चामल २० दिन नपुग्दै सकियो । त्यसपछि छिमेकीसँग पैँचो गरेर ८ दिन त गुजारा चलाए, तर आउनुपर्ने दिन राहत आएन । छिमेकीकोमा पनि सकियो, अब त भोकै बस्नुको विकल्प रहेन । ‘चामल पाइन्छ कि भनेर भोकै लाइन बस्न आएँ तर खाद्य गोदाम नै खुलेको रहेनछ,’ उनी भन्छिन, ‘कि त पहिलादेखि नै रासन नदिएको भए केही गरिसक्थ्यौँ होला, यसरी बीचमा आएर रासन काट्न भएन ।’
शरणार्थीहरूले अधुरो रासन नलिने बताउँदै आएका छन् । शरणार्थी अगुवा ७० वर्षीय शन्तवीर घले भन्छन्, ‘हामी अधुरो रासन लिदैनौँ, अहिले कटौती गरेर दिएको रासनले त हामीलाई १५ दिन पनि पुग्दैन अनि के गर्ने ? हाम्रो समस्यालाई नेपाल सरकारले पनि ध्यान दिनुप¥यो, भोकै मार्नु भएन ।’ यद्यपि बुढापाकाको रासन भने कटौती भएको छैन । ‘सबैलाई समान रासन दिनुपर्छ, बुढापाकालाई मात्र दिएर पुग्दैन,’ उनी भन्छन्, ‘हामी छोराछोरीलाई देखाएर खान सक्दैनौँ ।’ बेलडाँगी २ ए ३ हट नम्बर ५ का ६६ वर्षीय वृद्ध निरबहादुर खड्का खान नपाएको ३ दिन बितेको बताए । तातोपानीको भरमा दिन कटाउनु परेको उनको भनाइ छ । ‘घरमा चामल सकिएको ३ दिन बित्यो,’ उनी भन्छन्, ‘कि त हामीलाई भूटान फर्काइयोस्, होइन भने तुरुन्तै राहत दिनुपर्छ ।’
मंगलबार बिहानदेखि धारामा पानी पनि आउन छाडेको छ । ‘एकैपटकमा सबै समस्या आइप¥यो,’ खड्का भन्छन, ‘हामीलाई खानेपानी पनि नदिई मार्न खोजिएको छ ।’ रासन पाउने आशाले शरणार्थीहरू मंगलबार बिहानै गोदाम अगाडि लाइन बसेका थिए तर, क्याम्प व्यवस्थापन समितिले स्वयंसेवक नपठाउँदा गोदामसमेत खुल्न सकेन ।
बेलडाँगीस्थित शिविरका क्याम्प सचिव सञ्च हाङ आफूहरूको आत्मसम्मानमा समेत ठेस पुगेकाले स्वयंसेवक नपठाएको बताउँछन् । ‘यत्रो काम गर्दा पनि हामीले आत्मसम्मान पाएनौँ । रासन कटौती गर्नुअघि हामीलाई एक वचन पनि सोधिएन,’ उनी भन्छन, ‘रासन बाँढ्न किन रोकियो, विश्व खाद्य कार्यक्रमलाई नै सोध्नुपर्छ ।’ उनी शरणार्थीको छाप्राछाप्रामा पुगेर उनीहरूको अवस्था हेर्न उनी विश्व खाद्य कार्यक्रमलाई आग्रह गर्छन् । ‘तपाईंहरू छाप्राछाप्रामा जानुहोस्, शरणार्थीको अवस्था देखिहाल्नुहुन्छ, सबैको अवस्था दयनीय छ,’ उनले भने, ‘भूटान फर्किन नपाउँदासम्म हामीलाई बचाइदिनोस्, यदि हाम्रो माग सुनिएन भने भोको पेटले जे अह्राउँछ त्यही गर्छौं ।’
यसअघि २०१६ को जुन महिनामा पनि रासन कटौती भएको थियो । त्यसअघि १२ किलो २ सय ८० ग्राम वितरण गर्ने गरिएको थियो । यो परिमाण अहिले ५ किलो ६ सय ग्राममा झरिसकेको छ । त्यसमाथि पनि चामलबाहेक अरू केही नदिने भनिएको छ । उनीहरूले प्राप्त गर्दै आएको चिनी, नुन, दाल, खाने तेल र पोषणयुक्त पीठोसमेत कटौती भएको छ । अब त गुजारा धान्न पनि मुस्किल भइसक्यो । आफूहरूलाई भूटान फर्किने व्यवस्था मिलाइदिन सरकारसँग उनीहरूको आग्रह छ ।
प्रतिक्रिया