पाल्पा, १२ माघ । झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुँदै गएको छ । वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो ।
६ वर्ष अगाडिसम्म वनमाराले भरिभराउ काउलेडाँडा वन हिजोआज अम्रिसोले गर्दा इलामको चियाबगानको झल्को मेटाउने भएको छ । काउलेडाँडा वन चियाबगानको झल्को मेटाउने भएपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ र आकर्षणको केन्द्रका रूपमा प्रख्यात बनेको छ ।
यहाँ लगाएको अम्रिसो फस्टाउँदै गएपछि अहिले यस क्षेत्र पर्यटकीय गन्तव्य स्थलको रूपमा चिनिन थालेको छ । काउलेडाँडाको माथिल्लो भागबाट उत्तरमा रहेका विभिन्न हिमशृंखला तथा तराईका विभिन्न स्थानको अवलोकनसमेत गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।
अम्रिसोखेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका स्थानीयको जीवनशैलीमा पनि परिवर्तन आएको छ । एफएओको आर्थिक सहयोग, जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानीयको सक्रियतामा अम्रिसोखेती सुरु गरिएको हो ।
झन्डै २४ सय ७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वनमा लगाएको अम्रिसोखेती, त्यहाँको मनोरम सुन्दर प्राकृतिक वातावरण अवलोकनका लागि हालसम्म ५६ जिल्लाबाट यहाँ आएको वन समूहका अध्यक्ष दमन थापा पाटाले बताए ।
काउलेडाँडा वनमा लगाइएको अम्रिसोबाट ०७१ सालमा ७५ लाख र गतवर्ष ९२ लाख बराबरको आम्दानी भएको अध्यक्ष पाटाले बताए । ‘सुरुमा अम्रिसोको संरक्षणमा केही समस्या आइलागे पनि पछिल्लो समय अम्रिसोबाट मनग्ये आम्दानी भइरहेको छ’ उनले भने ।
अम्रिसो पूmल खेल्ने समयमा पर्यटकको संख्यामा वृद्धि हुने जनता प्राथमिक विद्यालय धार्केसिङका प्रधानाध्यापक भीमबहादुर रानाले बताए । यस क्षेत्रको मगर संस्कृतिको संरक्षण गर्दै काउले वनसँगै झिरुवास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अगाडि बढाउने काउलेडाँडा कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए ।
झिरुबास गाविस वडा नं ४, ६, ७, ८ र ९ का २ सय २७ घर उपभोक्ता काउलेडाँडा वनमा आबद्ध रहेको कार्यालय सचिव वीरबहादुर पाटाले जानकारी दिए । यस वन समूहभित्र पनि १९ उपसमूह आबद्ध रहेर अम्रिसोखेती गर्दै आइरहेका छन् ।
झिरुवासमा सुरु गरिएको अम्रिसो खेती फस्टाउँदै गएपछि छिमेकी गाविस मित्याल, सहलकोटका स्थानीयले पनि खेती गर्न थालेका छन् । यहाँ अवलोकनका लागि आउने पर्यटकका लागि काउलेडाँडा वनको प्राकृतिक सुन्दर वातावरण अम्रिसोखेती मात्र नभई परम्परागत रूपमा लोपोन्मुख अवस्थामा रहेको कुडुले घर पनि रोचक र आकर्षक बनेको छ । यस क्षेत्रमा अहिले पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया