टिटिहिरियाका ३५ जनामा देखियो ‘सिकल सेल’

नेपालगञ्ज, ५ माघ । बाँकेको टिटिहिरिया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ नामक रोग देखा परेको छ । कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले मंगलबार बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शंकास्पद ५३ जनामा गरिएको ‘सिकल सेल’ स्किन टेस्टमा ३५ जनामा सो रोग देखिएको भेरी अञ्चल अस्पतालका डाक्टर राजन पाण्डेले बताए ।

‘अधिकांश थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका क्रममा टिटिहिरिया गाविसका युवामा बढी देखियो,’ डा पाण्डेले भने, ‘जाँच गराउन आउने धेरैलाई यो रोगका विषयमा जानकारी नहुँदा हातदुख्ने खुट्टा दुख्नेलगायतका औषधि सेवन गरिरहेको हामीले पायौँ, बिरामीलाई बताइएको लक्षणअनुसार रगत परीक्षण गर्दा एउटै गाविसका विभिन्न वडाका थारु समुदायका युवामा सिकल सेलको जिवाणु भेटियो ।’

शिविरमा स्त्री रोग, छालासम्बन्धी रोग, मद्युमेह, आँखा, साधारण चिकित्सा, हाडजोर्नी तथा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी पनि स्वास्थ्य परीक्षणका लागि आएको नेपाली सेनाका चिकित्सक सह–सेनानी डा विश्वराजबहादुर कुँवरले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगञ्ज मेडिकल कलेज, नेपाल नेत्रज्योति संघ फुल्टेक्रा शाखा, नेपाल औषधि बिक्री प्रबन्ध संगठनलगायतका संस्थाको सहयोगमा सञ्चाललित शिविरमा स्थानीयवासीले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।

०२२ कात्तिक ७ गते स्थापना भएको राष्ट्रिय सेवा दलले बाँकेसहित देशभरका विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्रालाई व्यक्तित्व विकास र सैनिक ज्ञान दिइरहेको छ ।

सोहि तालिमअन्तर्गत कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले एनसिसि क्याडेट छात्रछात्रालाई दिइने तालिममध्ये मेडिकल क्याम्पमा कसरी स्थानीय नागरिकलाई सहयोग गर्ने, सामाजिक चेतना जगाउने भन्नेबारे शिविर आयोजना गरिएको क्याम्प संयोजक सेनानी हेमन्तकुमार थापाले बताए । शिविरमा ८ सय ५० महिला, पुरुष र बालबालिका सहभागी थिए ।

प्रतिक्रिया