सप्तरी, ४ माघ । सप्तरीको रायपुर गाविसस्थित रुपनीमा पूर्वक्षेत्रीय प्रहरी अस्पतालको स्थापना भएको छ । नव निर्मित अस्पतालको सोमबार प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे । पूर्व–पश्चिम राजमार्गसँगै टाँसिएको ठाउँमा दाता राजविराज–४ निवासी जोगेन्द्र भगत र उनकी पत्नी ठाकोदेवीले दान गरेको जग्गामा २५ बेडको अस्पताल निर्माण गरिएको छ । अस्पतालको भवनसमेत भगत दम्पत्तीले नै निर्माण गरिदिएका छन् ।
अस्पतालको उद्घाटन गर्दै नेपाल प्रहरीका प्रमुख अर्यालले प्रहरीको अस्पतालमा सर्वसाधारणको पनि उपचार गरिने बताए । उनले एक साताभित्रै मुलुकको विभिन्न स्थानमा रहेका नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणको समेत उपचारको व्यवस्था मिलाइने बताए । यसका निम्ति कार्य भइरहेको बताउँदै उनले सर्वसाधारणका लागि विशेष प्याकेजहरू ल्याइने जानकारी दिए ।
रुपनीमा स्थापना गरिएको अस्पतालमा केही दिनभित्रै ट्रमा सेन्टरको व्यवस्था गरिने बताउँदै सबैको उपचार राम्रो तरिकाले होस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए । अर्यालले जग्गा दान गर्दै भवन निर्माणसमेत गरिदिने भगत दम्पत्तीलाई हार्दिक धन्यवाद दिँदै यो अस्पतालमा नेपाल प्रहरीको तर्फबाट ५० लाख नगद र १ करोड बराबरको उपकरण प्रदान गरिएको बताए ।
नेपाल प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेलले अस्पतालको उद्घाटनसँगै आकस्मिक सेवा प्रारम्भ गरिसकिएको बताउँदै ओपिडी सेवा पनि केहि दिनभित्रै प्रारम्भ गरिने बताए ।
राजमार्गसँगै रहेको यस अस्पतालमा दुर्घटनासम्बन्धी विशेष चिकित्सकको व्यवस्था गरिने बताउँदै उनले चाँडै नै सिटी स्क्यान सेवा पनि प्रारम्भ गरिने जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बिपी दासले प्रतिष्ठान यो अस्पतालसँग सहकार्य गर्दै हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।
अस्पताल निर्माणका लागि २ बिघा ५ कठ्ठा जग्गा दान गर्दै भवनसमेत निर्माण गरिदिने भगत दम्पत्तीलाई प्रहरी प्रमुख अर्यालले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतिक्रिया