कुपिण्डे दह हेर्ने पर्यटकको संख्या बढ्दै

सल्यान, २९ पुस । सल्यानको पर्यटकीय स्थल कुपिण्डे दह अवलोकनका लागि आउने पर्यटकको संख्या दिनदिनै बढन थालेको छ । मौसम अनुसार रंग बदल्ने यस दहको अवलोकन र दहसँगै रहेको मन्दिर दर्शनका लागि पर्यटकहरू यहाँ आउने गर्दछन् ।

विगत ३ वर्षयता यहाँ आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको कुपिण्डे दह संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष झरेन्द्र कँवरले बताए । कुवँरका अनुसार यो वर्ष मात्र २५ हजारभन्दा बढी पर्यटक कुपिण्डे दह आइपुगेका छन् ।

सल्यान–खलंगा–वालुवासंग्रही सडकको ट्रयाक खोल्ने कार्य पूरा भएपछि पर्यटकको संख्यामा वृद्धि भएको उनको बुझाइ छ । अग्ला पहाड र हरियाली जंगलले घेरिएको कुपिण्डे दहको दृष्य मनै लोभ्याउने खालको छ । आकाशझैँ नीलो देखिने गरी २३ दशमलव ५३ हेक्टर जमिनमा फैलिएको यो दहको लम्बाई ८ सय ३४ र चौडाइ ५ सय ३८ मिटर रहेको संरक्षण समितिका पूर्वअध्यक्ष दीपक यरीले जानकारी दिए ।

भर्खरै विवाह गरेका नवदम्पत्ती तथा सन्तान नभएकाहरू सन्तान प्राप्त हुने मनोकांक्षाले यहाँ आउने गरेको कुपिण्डे– ३ निवासी १ सय १० वर्षीय वृद्ध भद्र कुँवर बताउँछन् । मंसिर शुक्ल पूर्णिमा र माघे संक्रान्तिको दिनमा यहाँ विशेष मेला लाग्ने गर्दछ । वैशाख र जेठको पूर्णिमामा पनि मेला लाग्ने गरेको स्थानीय बताउँछन् ।

पछिल्लो केही वर्षयता भक्तजनहरूको संख्या निकै बढेको मन्दिरका पूजारी लालबहादुर कुँवरले बताए । ‘यो वर्ष मात्र ५ देखि ७ हजार भक्तजन मन्दिरको दर्शन गर्न आए होलान, उनले भने ।’ आजभोलि कुपिण्डे दह पिक्निक स्पटका रूपमा पनि विकास हुन थालेको छ । सल्यान र आसपासका जिल्लाबाट विभिन्न संस्थाका प्रतिनिधि तथा विद्यालयका शिक्षक विद्यार्थीहरू पिकनिकका लागि यहाँ आउने गर्छन् ।

‘म दुईपटक कुपिण्डे दह पुगेँ, जवप्लेसमेन्ट कलेज सल्यान श्रीनगरका प्रबन्धक ठाकुर पाण्डेले भने, ‘त्यहाँबाट चाखुरे, सिस्नेलगायत हिमशृंखलाको अवलोकनसमेत गर्न सकिन्छ ।’ संरक्षण समितिले अहिले दहमा डुंगा (चम्फा) सञ्चालनमा ल्याएको छ । डुंगाचालक सूर्य बुढाथोकी भन्छन, ‘आजभोलि डुंगा चढ्नैका लागि पनि पर्यटकहरू बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाटसमेत आउने गरेका छन् ।’ आवश्यक पूर्वाधार विकासमा ध्यान दिने हो भने पर्यटकको संख्या अझै बढ्ने उनको दाबी छ ।

प्रतिक्रिया