चरिकोट, २८ पुस । सुन्दा अचम्म लाग्नसक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ । दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छिन ।
दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ । बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् । उक्त १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन । २ कक्षा पास गरिसकेका विद्यार्थीका लागि ३ कक्षा पढ्ने व्यवस्था यस विद्यालयमा छैन् । नजिकै अर्को विद्यालय पनि छैन । भूकम्प जानुभन्दा पहिले लक्ष्मी श्रेष्ठ सिन्धुपाल्चोक बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा कक्षा ७ मा पढ्थिन् । भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको सम्बन्ध छुटायो उनको ।
भूकम्पपछि उनी आफ्नो घर लाकुरीडाँडा आइन् । लाकुरीडाँडामा आमाबुबासँग बसे पनि उनलाई विद्यालय पढ्नुपर्छ भन्ने कुराले पिरोलिरहेको र आमाबुबाले आफ्नो सांकेतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन् । आफ्नो बाआमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ छ । ‘मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन । आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौँ भनेर म कक्षा २ मा अध्ययन गरिरहेको छु ।’ उनले भनिन्, ‘मलाई दुःखसँगै लाज लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु ।’
उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले । यहाँ आमाबुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरू पढिरहेका छन् । एउटै कक्षा कोठामा ३ वटा कक्षा भनेर पढाइ भइरहेको छ । दुईतिर फर्केर कक्षा सञ्चालन भइरहेको छ । एका तिर फर्केर एउटा कक्षा चलिरहेको भने पछाडि २ कक्षा सञ्चालन भइरहेको छ । बाल कक्षा बाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्कीले बताइन् ।
अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन । भवन मात्रै त बहिराको सबथोक होइन गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ । विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ । उनी भन्छिन, ‘यहाँ २ कक्षा मात्र छ । तर, धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन् । यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो । विद्यार्थीको तह छुट्याउन गाह्रो भएको छ ।’
उक्त विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ । प्रधानाध्यापक बहिरा नै छिन् । यसले विद्यार्थीलाई सहयोग त पु¥याएको छ तर शिक्षा कार्यालयले बाल शिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा सांकेतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ । उनी थप्छिन, ‘नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् सांकेतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु तर, कसैले सुनेन ।’ बहिरालाई दया गर्ने मात्र होइन अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ छ ।
प्रतिक्रिया