खोटाङ, २७ पुस । सुत्केरी ब्यथाका क्रममा पाठेघर फुटेकी खोटाङकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । २४ घन्टाभन्दा बढी समयसम्म सुत्केरी ब्यथा लागेकी दोर्पा चिउरीडाँडा–७ की इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो ।
पाठेघर फुटेर सिकिस्त बनेको अवस्थामा जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी भुजेलको एमडिजिपी डा.नारायण बराल, मेडिकल अधिकृतद्वय शैलेन्द्र श्रेष्ठ र अशोक गिरीको टोलीले शल्यक्रिया गरेर मृत बच्चा निकालिएको महिलाका आफन्तले बताएका छन् । भुजेलले १६ महिनाकै जन्मान्तरमा तेस्रो बच्चा जन्माउन लागेको खुलेको छ ।
धामीझाँक्रीको भरमा बस्दा ढिला गरी अस्पतालमा ल्याइएकी भुजेलको शल्यक्रिया गर्न ४ घन्टा समय लागेको उपचारमा संलग्न डा.बरालले बताए । उनका अनुसार ब्यथाकै क्रममा सुत्केरी महिलाको पाठेघर फाटिसकेको पाइएको थियो । सुत्केरीको जीवन बचाउका लागि लिच्कीराम्चेका रमेश राई र नेपाली सेनाका १ जवानबाट आवश्यक रगत जुटाइएको थियो । मृत्युको मुखबाट बचाइएकी महिलालाई थप उपचारका लागि सोमबार हेलिकोप्टर चार्टर गरेर प्रसूतिगृह, थापाथली, काठमाडौं पठाइएको छ । महिलाको अवस्था अहिले सामान्य बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ । भुजेल दम्पत्तीका २ छोरा छन् ।
प्रतिक्रिया