सुदूरपश्चिममा बाक्लो हिमपात

him-patबैतडी, २५ पुस । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराती सुदूरपश्चिम क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण बैतडी जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातीदेखि गाडी नै चल्न सकेका छैनन् उनले भने, ‘राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको छ’ केही बेरपछि जेसिबी डोजरले हिउँ पन्छाइ राजमार्ग खुलाइने प्रहरीले बताएको छ ।

राजमार्ग अवरुद्घ हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडौं र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् ।

यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्घ भएको बताइएको छ । वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ । चिसोले बढीजसो बालबाललिका र वृद्घवृद्घा प्रभावित भएका छन् । लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन् ।

यसैगरी आइतबार बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरूपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातीबाट हिमपात भए पनि यसको उच्च लेकहरू, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब ४ देखि ५ फिट हिमपात भएको अनुमान गरिएको छ ।

जुम्ला सदरमुकाममा भने ११ सेन्टिमिटर हिउँ परेको हावापानी फिल्ड कार्यालय, जुम्लाका कार्यालय प्रमुख एपी चौरासियाले जानकारी दिए । कार्यालय प्रमुख चौरासियाले भने, ‘हिजो दिनभरिको चिसोले न्यूनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री सेन्टिग्रेड थियो । सुरुमा पानी प¥यो र त्यसपछि मात्र हिमपात भयो । हिमपात हुँदा यहाँबाट बिहानै ५ बजेदेखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरूको दैनिक कार्य पनि प्रभावित बनेको छ ।’

चिसोले गर्दा मेसिनरी सामग्री रेडियो, फ्याक्स, फोटोकपी, प्रिन्टर, छापाखाना मेसिनले काम गर्न छोडेका छन् भने धारामा आउने पानी, एलपी ग्यास जम्दा नागरिकको खानपिनमा समस्या भएको छ । अहिले केही समयदेखि हिमपात रोकिए पनि आकास बादलले नै छोपेको छ ।

गएको मंसिर ११ गते चोरिएर पुस १९ गते पत्ता लागेका जुम्ला चन्दननाथ मन्दिरका मूर्ति आज ११ः३० बजे सार्वजनिक गर्ने भनिएको तालिका हिमपातका कारण प्रभावित बन्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । प्रजिअ पण्डितका अनुसार चिसोले सरकारी तथा गैरसरकारी निकायको सेवा प्रवाह कठिन बन्ने र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने देखिन्छ । दिउँसो १÷२ बजेबाट आकास खुल्ने र मौसम सफा हुने हावापानी फिल्ड कार्यालय, जुम्लाले जनाएको छ ।

यता बाजुरामा हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरूपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ । बाजुरामा राती हिमपात सुरु भए पनि सुदूरपश्चिमका अन्य÷अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दालगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो ।

पोरखे लेकमा ५ देखि ६ फिट हिउँ परेका कारणले मानिस र अन्य सवारीका साधन नचलेको प्रजिअ देवेन्द्र लामिछानेले बताए । उनले हिउँ पर्न थालेपछि उत्तरी भेगमा जाने सवारी साधन, खच्चर, भंडासमेत चल्न–हिँड्न बन्द भएको जानकारी दिए । जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरू घर बाहिर निस्कन पाएका छैनन् । जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् ।

यसैबीच पानी परेपछि भने किसान खुसी भएका छन् । लगाइएको गहुँखेती राम्रो हुने भन्दै उनीहरूको अनुहारमा खुसी देखिएको छ । लामो समयको खडेरीले जिल्लाको वाइ गाविसमा ३ खेती नलगाएर खेत बाँझै राखिएको थियो ।

प्रतिक्रिया