बसपार्क निर्माणमा ढिलाइ

इलाम, २४ पुस । इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण कार्य सुरू भएको ५ वर्ष बितिसक्दा पनि निर्माण पूरा हुनसकेको छैन । ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएर बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्तगतिमा मात्र काम भएको छ ।

सहरी विकास तथा आवास डिभिजन कार्यालयले २ वर्षमा कामसक्ने लक्ष्य राखेर काम अघि बढाए पनि बजेट अभावले समस्या भएको जनाएको छ । ग्रिन बिल्डिङको अवधारणा अनुसार बसपार्क निर्माण हुने कार्यालयले जनाएको छ ।

घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो तहको काम भइरहेको छ । पानी व्यवस्थित गर्ने काम पनि यससँगै सम्पन्न हुने कार्यालयले जनाएको छ ।

‘पर्याप्त बजेट नआएका कारण लक्ष्यअनुसार काम सम्पन्न गर्न नसकिएको हो,’ इन्जिनियर सुवर्ण चौधरीले भने । ‘निर्माण पूरा भएपछि १८ वटा बस राख्न सकिनेछ’ । साथै बसपार्क क्षेत्रमा १२ वटा ट्याक्सी पार्किङ गर्न सकिनेछ ।

मुख्य बजारदेखि करिब २ किलोमिटर टाढा रहेको बसपार्क बजारबासीका लागि अपायक भएको गुनासो छ । ‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ,’ कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भने, ‘बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउँ नभएको र बढ्दो सवारी साधनका कारण पनि यो स्थान नै उपयुक्त हो ।’ उनले भने ।

बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी पार्कको रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले जनाएको छ । बसपार्क निर्माण सुरू भएपछि त्यस क्षेत्रमा जग्गाको मूल्य वृद्धि हुनुका साथै धमाधम घर निर्माण हुने क्रमसमेत बढेको स्थानीय महेन्द्र चौहानले बताए ।

प्रतिक्रिया