दुई घन्टाभन्दा बढी कही लोडसेडिङ छैन : मन्त्री शर्मा

भरतपुर, २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रसारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए ।

मन्त्री शर्माले काठमाडौं, पोखरा, विराटनगरलगायत ठाउँमा लोडसेडिङ नभएको दाबी गर्दे अन्य क्षेत्रमा पनि २ घन्टाको हाराहारीमा मात्र लोडसेडिङ हुने गरेको बताए । लोडसेडिङ क्रमशः घटाउँदै लैजाने बताउँदै उनले जनशक्ति र प्रविधिको सही उपयोग गर्न सकेकै कारण लोडसेडिङ घटाउन सकेको बताए ।

मन्त्री शर्माले लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको बताउँदै आन्तरिक रूपमा काम भइरहेकाले के–कति कारबाहीमा पर्छन् अहिले नै भन्न नसकिने धारणा व्यक्त गरे ।

झोलामा लाइसेन्स राख्ने परम्पराको अन्त्य गरी लाइसेन्स बिक्री गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, ‘जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछ ।’

मन्त्री शर्माले संविधान संशोधन प्रक्रियामा जान पुस २४ गतेसम्ममा दलहरूकाबीच सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘सरकार संविधान संशोधन गराउने कुरामा प्रयासरत छ’ । उनले भने, ‘सरकारले सबै दललाई सहमतिमा ल्याएर देशलाई निर्वाचनतर्फ लैजाने तयारीमा रहेको छ ।’

प्रतिक्रिया