राजमार्ग स्तरोन्नतिमा ढिलाइ हुँदा सेवाग्राहीलाई सास्ती

चितवन, २३ पुस । राजधानीलाई तराईसँग जोड्ने मूख्य नाका मुग्लिङ–नारायणगढ सडक खण्ड स्तरोन्नतिको कामले अपेक्षाकृत गति लिन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

राजमार्ग स्तरोन्नति गरी ४ लेन बनाउन २२ महिनाअघि काम थालिएको भए पनि यस सडकखण्डमा अहिलेसम्म ३४ प्रतिशत मात्र स्तरोन्नति भएको छ । ‘अहिलेसम्म ३४ प्रतिशत काम सकिएको छ ।’ सडक बिस्तार आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले भने, ‘बाटो फराकिलो बनाउन ४ ठाउँमा पहाड काट्नुपर्ने भएकोले पनि काम केहि सुस्त देखिएको हो ।’ उनले भने ।

ठेक्का सम्झौता अनुसार आगामी अप्रिल, ०१७ सम्म सडक आयोजनाको काम सम्पन्न गरिसक्नुपर्नेछ । तर, निर्धारित समय ४ महिना मात्र बाँकी रहँदा आधा पनि काम नहुनुले समयमै निर्माण सम्पन्न नहुने निश्चित भइसकेको छ ।

निर्माण सम्झौता भए लगत्तै आएको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण काम हुन नसकेको भन्दै ठेकेदारले सरकारसँग म्याद थपको आग्रह गरेका थिए । सरकारले अगस्ट २०१७ सम्म मुग्लिङ–नारायणगढ सडक सुधारको काम सम्पन्न गर्न लक्ष्य लिए पनि निर्माण कम्पनीले भने अप्रिल २०१८ सम्म म्याद थप्नुपर्ने माग गरिरहेका छन् ।

उक्त सडक निर्माणको लागि भन्दै हाल दैनिक ४ घन्टा सडक अवरुद्ध हुँदै आएकोमा बिहीबारदेखि साढे चार घन्टा सडक अवरुद्ध गरेर निर्माण कार्य अगाडि बढाउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्देशन दिएका छन् । बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म उक्त ठाउँमा एम्बुलेन्स बाहेकका सवारी साधनलाई पूर्ण रूपमा निषेध गरेर सडक विस्तार गर्न भट्टले निर्देशन दिएका हुन् ।

सडक बिस्तारको काम लम्बिदै जाँदा यात्रुहरूले सास्ती खेप्नुपरेको त छँदै छ, बाटोका कारण मूख्य पर्यटकीय क्षेत्रमा पर्यटकको आवागमन पातलिँदा व्यवसायीसमेत मारमा परेका छन् ।

प्रतिक्रिया