कञ्चनपुर, २२ पुस । कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दुरीका सडक र हुलाकी मार्गको निर्माण कार्य तीव्र गतिमा भएको छ ।
लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेको छ । महाकाली नदीमा ४ लेनको पक्की पुल निर्माणदेखि कञ्चनपुरकै धेरै जनसंख्यामा रहेको दक्षिणक्षेत्र जोड्ने ६० किमी लम्बाइ भएको दैजी–बेल्डाँडी र बेलौरी–डोके बजार हुलाकी सडकको निर्माण अघि बढेको छ ।
‘महाकाली नदीमा पुल निर्माणको कार्य धेरै अघि बढिसकेको छ’, भीमदत्तनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोदकुमार मौवारले भने, ‘भारत सरकारको सहमति आउनासाथ पुल निर्माण ठेक्का प्रक्रियामा जान्छ ।’
दैजी–बेल्डाँडी, बेलौरी डोके बजार कच्ची हुलाकी सडकका कारण लामो समयदेखि सास्ती खेपिरहेका दक्षिण क्षेत्रका नागरिकलाई हुलाकी मार्ग बनेमा आवागमनमा निकै सहज हुनेछ । ‘विगत वर्षमा यहाँका सडक निर्माणको गति २ सय मिटर लामो कालोपत्र गर्ने र मर्मतसम्भारका लागि मात्रै केन्द्रबाट बजेट आउने गरेको थियो ।’ मौवारले भने, ‘अहिले यहाँ पुल निर्माणदेखि सडक कालोपत्र बनाउनसम्मका लागि मन्त्रालयले पर्याप्त बजेट पठाइरहेको छ ।’
हाल कञ्चनपुरमा सडक डिभिजन कार्यालयले मात्रै २२ पुल निर्माण अघि बढाएको छ । त्यसैगरी वर्षौंदेखि अलपत्र परेको ६८ किमी लम्बाइ रहेको दैजी–जोगबुढा सडक खण्ड निर्माण पनि अघि बढेको छ । ‘२२ किलोमिटर सडक मात्रै हाम्रो जिल्लामा पर्छ’, उनले भने, ‘अहिले ३५ करोडमा निर्माणको ठेक्का प्रक्रियामा छ ।’
त्यसैगरी कलुवापुर–बेलौरी सडक आगामी २ वर्षमा कालोपत्र गर्ने गरी हाल २३ किमी सडक निर्माण ३० करोडमा ठेक्कामा गएको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यसैगरी हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख पुरन्थ मण्डलले कञ्चनपुरको डोके बजारदेखि दैजीसम्मको ६० किमी सडक पक्की बनाउनका लागि ठेक्का प्रक्रिया भइरहेको जानकारी दिए । ‘३ वटा प्याकेज रहेको उक्त हुलाकी सडक २ वर्षमा निर्माण सक्ने गरी डेढ अर्बमा ठेक्का प्रक्रियामा छ ।’
योजना प्रमुख मण्डलले भने, ‘२ महिनाभित्र यसको काम सुरु हुन्छ ।’ उनले कैलालीको धनगढी–भजनी हुलाकी मार्गको पनि निर्माण अघि बढिरहेको जानकारी दिए । ‘४४ किलोमिटर पहिल्यै भारत सरकारको सहयोगमा बनिसकेको छ’, मण्डलले भने, ‘अहिले १८ किलोमिटर सडक बनाउन ४४ करोडको ठेक्का प्रक्रिया अन्तिम चरणमा छ ।’
त्यसैगरी टनकपुर–ब्रह्मदेव लिंक रोड पनि पूरा गर्ने गरी मन्त्रालयले कालोपत्र गर्न ठेक्का गरी काम अगाडि बढाइसकेको छ । ‘लिंक रोडमा विगतमा १÷२ करोड रकम निर्माणका लागि आउने गरेको थियो’, मौवारले भने, ‘यसपटक १३ किलोमिटर लम्बाइ भएको उक्त रोड पूरा गर्ने गरी ३७ करोडमा ठेक्का प्रक्रिया भइसकेको छ ।’
मौवारले भने, ‘विगत वर्षका प्रगति भनेका सामान्य सडक मर्मतसम्भारका मात्रै हुन्थे ।’ जिल्लामा रणनीतिक तहका सडक तथा पुल निर्माण सडक डिभिजनमार्फत तथा स्थानीय सडक जिविस र नगर क्षेत्रका सहरी सडक भीमदत्त नगरपालिका कार्यालयले निर्माण गरिरहेको छ ।
भीमदत्त नगरपालिका कार्यालयका इन्जिनियर हिमालयसिंह ऐरले नगरपालिका आफैँले नगरक्षेत्रमा ७ देखि ८ किमी सडक कालोपत्रे गरिरहेको जानकारी दिए । ‘८ वटा कल्भर्ट निर्माणका लागि पनि ठेक्का प्रक्रिया भइरहेको छ’, ऐरले भने । सघन सहरी विकास कार्यक्रमअन्तर्गत पनि यहाँका १४ सडक कालोपत्र भइरहेको जानकारी दिए ।
प्रतिक्रिया