काडमाडौं, २१ पुस । युएसए कराते महासंघका राष्ट्रिय रेफ्री पर्खि खालिङले न्युयोर्कमा सञ्चालित इन्टरनेसनल मार्सल एसोसिएसन सञ्चालनको जिम्मा पाएका छन् । विगत १ दशकदेखि न्युयोर्कमा रहेका खालिङले स्वामित्वमा लिएका इन्टरनेसनल मार्सल एसोसिएसन युएसएमा सञ्चालित पहिलो र एक मात्र नेपाली कराते स्कुल हो ।
यसअघि अर्का नेपाली शान्त थोकरसँगको संयुक्त लगानीमा सञ्चालित सो स्कुलको सम्पूर्ण स्वामित्व १ जनवरी २०१७ देखि उनले लिएका हुन् । सुरुमा शान्त थोकरद्वारा सञ्चालित सो स्कुलमा प्रशिक्षार्थी भएर प्रवेश गरेका खालिङ निरन्तर मिहेनत र इमान्दारिताका कारण अन्तत स्कुलको सम्पूर्ण स्वामित्व आफ्नै नाममा बनाउन सफल भएका हुन् । सन् २००७ मा स्थापित सो स्कुलमा सन् २००८ जुन २२ तारिखको दिनदेखि उनले एक प्रशिक्षार्थीको रूपमा प्रवेश गरेका थिए । सोही स्कुलबाट सिकेर युएसएमै फस्ट डन र सेकेन्ड डनलगायतका विभिन्न उपाधि हासिल गरेका खालिङले युएसए कराते महासंघको कुशल राष्ट्रिय रेफ्रीको रूपमा हालसम्म दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । खालिङकै सम्पूर्ण स्वामित्वको सो स्कुलमाविश्व कराते महासंघको नीति र नियमअनुसारका सबै खेलहरू खेलाउने गरिएको छ । उनकाअनुसार सो स्कुलमार्फत अहिलेसम्म १५ जनाले ब्ल्याकबेल्ट गरिसकेका छन् भने सयौँले विभिन्न स्तरको प्रशिक्षण लिइसकेका छन् ।
स्कुलको स्वामित्व ग्रहणपछि प्रतिक्रियादिँदै खालिङले भने ‘दुई पक्षीय सौहार्दपूर्ण समझदारीपछि मैले इन्टरनेसनल मार्सल आर्टको स्वामित्व आफ्नै नाममा बनाएको छु । यसले ममाथि थप जिम्मेवारी बढेको महसुस गरेको छु । अब यसलाई थप चुस्त, दुरुस्त सञ्चालन गर्नको लागि म लागि पर्नेछु । यो खुसीको क्षणमा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने महानुभावज्यूहरूलाई विशेष धन्यवाद दिन चाहान्छु ।’
प्रतिक्रिया