तेह्रथुम, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरूको पुनर्बासका लागि १ करोड रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्री दाहालले भने, ‘आगलागीले बजार ध्वस्त भएको छ, तपार्इंहरू घरबारविहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि १ करोड रूपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु ।’
उनले, ‘संक्रान्ति बजारमा छिट्टै दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका लागि खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पुनस्र्थापना र व्यवसाय सञ्चालनका लागि विनाधितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने बारे छिट्टै पहल गराउँछु ।’
पुस १ गते संक्रान्ति बजारमा आगलागीमा २९ घर पूर्णरूपमा र ३ आंशिक रूपमा जलेको थियो भने ५६ परिवार प्रभावित भएका छन् । सानो भए पनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ भएको भन्दै प्रधानमन्त्रीले यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।
प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरूको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि १ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाले प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालगायतको उपस्थिति थियो ।
आगजनीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्यांकन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिए । पीडितहरूलाई सरकारले प्रतिघर १० हजार राहत र अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्नलगायतका राहत सामग्री उपलब्ध गराएका थिए ।
प्रतिक्रिया