अनुदानको चामल सदरमुकाममा थन्क“दा जनता मारमा

गोरखा, २० पुस । सरकारले गोरखाको उत्तरी दुर्गम ७ गाविसका लागि उपलब्ध गराएको अनुदानको चामल सदरमुकाममै थन्किँदा लक्षित जनता महँगोमा चामल खरिद गर्न बाध्य भएका छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा सिर्दिवासमा ३ हजार र माछाखोलामा २ हजार क्विन्टल चामल कोटा स्वीकृत गरेको थियो । तर, ६ महिना पुग्दासमेत हालसम्म २ सय ६९ क्विन्टल मात्र चामल ढुवानी भएको छ । बंगलादेशबाट अनुदानमा आएको ३५ सय क्विन्टल चामल संस्थानमा स्टक रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय गोरखाका प्रमुख टेकप्रसाद रेग्मीले बताए ।

ठेक्का आव्हान गरे पनि स्वीकृत नहुँदा अहिलेसम्म चामल ढुवानी गर्न नसकिएको संस्थानका प्रमुख टेकप्रसाद रेग्मीले जानकारी दिए । चामल ढुवानी नभएपछि अहिले सिर्दिबास, उहिया, कासिगाउँ, केरौँजा, ल्हो, प्रोकलगायत सामागाउँ, बिही, चुम्चेत छेकम्पारलगायत गाविसका स्थानियहरू महँगो मूल्य तिरेर स्थानीय बजारबाट चामल किन्न बाध्य छन् ।

दुर्गम भेगका स्थानीयका लागि सरकारले गुम्दाको माछाखोला र सिर्दिबासमा डिपो राखेर चामल बिक्री गर्दै आएको थियो । डिपोमार्फत उसिना चामल प्रति केजी ३१ रूपैयाँका दरले उपभोक्ताले किन्न पाउनेछन् । त्यस्तै सोना मंसुली भने माछाखोला डिपोबाट प्रतिकेजी ४२ रूपैयाँ र सिर्दिवास डिपोबाट प्रतिकेजी ४५ रूपैयाँमा स्थानीयले खरिद गर्न पाउँथे ।

तर, अहिले डिपोमा १ दाना चामल नभएको माछाखोला डिपोका बालानन्द बस्यालले बताए । चामल नभएपछि महँगो मूल्य तिरेर बजारबाट चामल किन्न बाध्य भएको स्थानीयहरूको गुनासो छ । ‘दुईपल्ट ठेक्का आव्हान गरेप नि ठेकेदारले सम्झौता गर्न आएनन,’ संस्थानका प्रमुख रेग्मीले भने ‘ढुवानी गर्ने बाटो सहज नहुँदा सम्झौता गर्न ठेकेदारले आनाकानी गरेका छन् ।’

सोमबार आव्हान गरिएको टेन्डर स्वीकृत भएको उनले बताए । ‘तेस्रोपटक बल्ल टेन्डर स्वीकृत भएको छ, अबको केही दिनमा सम्झौता भएर चामल ढुवानी हुन्छ,’ रेग्मीले भने । माछाखोलामा रहेका प्रगति निर्माण सेवासँग टेन्डर स्वीकृत भएको र अबको १५ दिनभित्र चामल ढुवानी हुने उनले दाबी गरे ।

प्रतिक्रिया