काठमाडौं, २७ मंसिर । श्रुति संगीत विद्यालयले राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई सम्मान गरेको छ । हरेक वर्ष जस्तै यसवर्ष पनि यस संगीत विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै बस्नेतलाई सम्मान गरेको हो ।
संगीत क्षेत्रका विभिन्न विधाहरूमा अध्यापन तथा प्रशिक्षण दिँदै आएको यस संगीत विद्यालयले नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याइरहेका स्रष्टाहरूलाई प्रोत्साहन तथा सम्मान गर्ने परम्परा कायम राखेको हो । प्रत्येक वर्ष श्रुति सम्मान एवं स्वामी नारयणाचार्य श्रुति अभिनन्दन स्वरूप नगद, मायाको चिनो तथा दोसल्लासहित यसपटक वरिष्ठ लोकगायक कुमार बस्नेतलाई अभिनन्दन गरिएको हो ।
त्यस्तै गीतकार राजेन्द्र शलभ, गायिका कुन्ती मोक्तान, गायक रामकृष्ण ढकाल र संगीतकार आलोकश्रीलाई श्रुति सम्मान प्रदान गरिएको छ । त्यस्तै श्रुति संगीत विद्यालयले हरेक वर्ष जस्तै यो वर्ष पनि राइजिङ स्टारका रूपमा उक्त विद्यालयका विधार्थी एवं गायक कृष्ण काफ्लेलाई अवार्ड प्रदान गरेको छ ।
राष्टकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्तसम्मान समारोहमा सागीतिक एवं राष्ट्रकै विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न नयाँ तथा केही पुराना गायकहरूले बरिष्ठ लोकगायक कुमार बस्नेतका गीत प्रस्तुत गरेका थिए भने श्रुति संगीत विद्यालयकी प्रबन्धनिर्देशक पुष्पा पौडेल, अध्यक्ष नरहरि प्रेमी तथा संस्थाका संरक्षक डा.भोला रिजालले नेपाली गीत संगीत तथा संस्थाका बारेमा आआफ्ना विचार राखेका थिए ।
प्रतिक्रिया