जुम्ला, २६ मंसिर । कर्णालीको जुम्लामा शुक्रबार पहिलोपटक बृहत् साहित्य सम्मेलन सम्पन्न गरिएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी संघले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा पहिलोपटक जुम्लामा बृहत् साहित्य सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा दर्जनौँ साहित्यकार तथा स्रष्टाले मुक्तक, गजल, लघुकथा, कविता वाचन गर्नुका साथै साहित्यसम्बन्धी अनुभव आदानप्रदान गरेका थिए । खसिया आखार, जुम्लाका प्रधानसम्पादक रमानन्द आचार्यले जीवनको ७०औँ वसन्तपछि खलंगामा साहित्य सम्मेलन हुनु ऐतिहासिक क्षण भएको बताए यसले यहाँको भाषा, साहित्य, संस्कृति, कला र विज्ञानको संरक्षणमा सघाउ पु¥याउने उनको भनाइ थियो ।
सम्मेलन आयोजक समितिका अध्यक्ष तथा नेक्राविसंका केन्द्रीय सदस्य महेश नेपालीले बृहत् साहित्य सम्मेलनले जिल्लामा भएका साहित्यिक अनुरागीलाई यसको महत्व, क्षेत्र र पार्ने प्रभावका बारेमा जानकारी दिए । स्थानीय साहित्यकारदेखि राष्ट्रियस्तरका साहित्यकार तथा लेखकद्वारा लिखित ९० पुस्तक र नेपाल मजदुर किसान पार्टीका प्रकाशित ४० वटा बुलेटिन प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा ६ सयभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । सम्मेलनका सहभागीले यस्ता प्रकारका कार्यक्रमले बौद्धिक विकासमा टेवा पुग्ने बताएका छन् । कवि तथा मध्यपश्चिम गजल प्रतिष्ठान शाखाका अध्यक्ष गणेश आचार्य ‘भुर्तेल बाबु’ले सम्मेलनले साहित्यकारलाई ऊर्जा दिएको बताए । जुम्ला बहुमुखी क्याम्पस, जुम्लाका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले साहित्यकारको भेला निरन्तर हुनुपर्नेमा जोड दिएका थिए ।
सम्मेलनमा सुशासन, भ्रष्टाचारविरोधी, महिला अधिकार, देशको समसामयिक अवस्था, भूकम्प, शिक्षाको अवस्था र विभिन्न प्रकारका अधिकारका विषयमा गजल तथा कविता प्रस्तुत गरिएका थिए। कार्यक्रममा साहित्यकार रमानन्द आचार्य, प्रकाशचन्द्र खत्री, यमराज कार्की, जङ्गबहादुर बुढा, जङ्गबहादुर शाही, गणेश आचार्य, रूपा भट्टराई, विष्णु शर्मा, कमल महत, कृष्ण बुढालगायत ३२ जना साहित्यप्रेमीले गजल तथा कविता वाचन गरेका थिए ।
प्रतिक्रिया