इलाम, २६ मंसिर । ‘घातक विषादीको प्रयोग निर्मुलीकरण गरौँ । आफ्नो र भावी सन्ततिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ इलाममा पनि विषादी सप्ताह सुरू गरिएको छ ।
२५ मंसिरसम्म सञ्चालन हुने सो नाटक शुक्रबार इलाममा सडकमा देखाइएको छ । नाटकमा गाउँमा सर्वसाधारण किसानले असुरक्षित ढंगले प्रयोग गर्ने विषादी र त्यसले मानव स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी गराइएको थियो । जिल्ला कृषि विकास कार्यालय इलामको आयोजनामा भएको कार्यक्रममा प्रतिबन्धित विषादीका बारेमा पनि जानकारी गराइएको थियो । विगत वर्षमा विषादी प्रयोग आफूखुसी गर्दै आएको भए पनि पछिल्ला वर्षमा विषादी प्रयोगप्रति किसान सचेत बन्दै गएको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए ।
जैविक विषादीको सहज उपलब्धताका कारण इलाममा पछिल्लो समयमा रासायनिक विषादी प्रयोगमा कमी आएको छ । कार्यालयका अनुसार आव २०७२÷०७३ मा इलाममा ९ सय २ लिटर झोल रासायनिक विषादी र ७ सय ३ किलो धुलो रासायनिक विषादी प्रयोग भएको छ । यो अघिल्लो आवमा भन्दा ४ दशमलव ७७ प्रतिशत कम हो । आव ०७१÷७२ मा ९५२ लिटर झोल र ७ सय ३३ किलो धुलो रासायनिक विषादी प्रयोग भएको थियो । विशेषज्ञका अनुसार इलाममा तरकारी, फलफूल, चियामा सर्वआयल, मल्टिनिम, एनिसोफाली, मेटाइजियम, ट्राइकोडर्मा भिरिडी विषादीको प्रयोग हुन्छ ।
नेपालमा करिब १ हजार ४ सय प्रकारका विषादी सूचीकृत भएका छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेक्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फर्फा्मिडन, अर्गनोमर्की, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसर्फान र फोरेट भने प्रतिबन्धित छन् । विषादीको असर धेरै देखिए पनि यसको आयात भने कम छैन । आव ०७१÷०७२ मा नेपालमा ४ सय ५४ दशमलव छ टन विषादी आयात भएको छ । कृषि विभागको तथ्यांक अनुसार कीटनाशक विषादी १ सय ६२ टन, रोगनाशक विषादी १ सय ९२ टन, झारनाशक विषादी ९० टन र अन्य १० टन आयात भएको छ ।
उक्त परिमाणको विषादी आयात गर्न ५५ करोड खर्च भएको जनाइएको छ । विषादीका कारण लामो समयपछि देखिने असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपना, विकृत बच्चाको जन्म, नशासम्बन्धी समस्या, पक्षघात जस्ता समस्या हुने गरेको विशेषज्ञ बताउँछन् ।
प्रतिक्रिया