काठमाडौं, २५ मंसिर । नेपाली संगीत क्षेत्रमा अलग पहिचान स्थापित गरिसकेकी गायिका सरस्वती लामाले आफ्नो दोस्रो गीति एल्बम ‘उर्वसी’ लिएर आएकी छन् । राजधानीको सिटी म्याक्स हलमा शुक्रबार आयोजित एक कार्यक्रममा एल्बम विमोचन भएको छ ।
जापानका लागि पूर्वराजदुत गणेश योञ्जनको प्रमुख आतिथ्यतामा एल्बम उर्वसीको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा गायक संगीतकार तथा प्राज्ञ शान्तिराम राई, संगीतकार बसन्त सापकोटा, हरि लम्साल, यम बराल, संगीत गुरु गुरुदेव कामतलगायतको उपस्थिति रहेको थियो । यस एल्बममा ५ वटा गीत समावेश गरिएको छ । गायिका लामाले यसअघि ‘उत्तरपूर्व’ गीति एल्बम बजारमा ल्याइसकेकी छन् ।
बागबजारको सिटी म्याक्स हलमा आयोजना गरिएको विमोचन समारोहमा बोल्दै प्रमुखअतिथि जापानका लागि पूर्वराजदुत गणेश योञ्जनले गायिका लामाको सांगीतिक यात्राको सफलताको शुभकामना गर्दै ‘उर्वसी’ एल्वम दर्शक तथा श्रोताहरूको रोजाइमा पर्नेमा आपूm विश्वस्त रहेको बताए । ‘उनको संगीतप्रतिको लगाव र मिहिनेतले साँच्चै सफलताको शिखर पुग्न मद्दत पुराउने छ’ उनले भने ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संगीतकार तथा प्राज्ञ शान्तिराम राईले नेपाली संगीत र कलाकारको पीडाका बारेमा प्रष्ट पारेका थिए । उनले नेपाली संगीतको घर नै रुनाधुना हुने भएकाले बजार लिन नसकेको उल्लेख गरेर । माइकल ज्याक्सन, ग्याङगम स्टाइलका साइलजस्ता गायक अहिले विश्वमा नै चर्चा कमाउन रोमान्टिक गीतकै कारण भएको उल्लेख गरे ।
‘उत्तरपूर्व’ सार्वजनिक गरेको १ वर्षको अन्तरालमा ‘उर्वसी’ बजारमा ल्याउन पाएकोमा आपूm निकै खुसी भएको गायिका सरस्वती लामाको भनाइ थियो । पहिलो एल्बम दर्शक तथा श्रोताहरूले रुचाएका कारण दोस्रो एल्बम ल्याउने हौसला मिलेको गायिका लामाले बताइन् । गायिका लामाद्वारा विमोचन गरिएको ‘उर्वसी’ एल्बममा ‘यो छोरीलाई…’, ‘उर्वसी हुँ म उर्वसी…’, ‘खाली छ खाली…’, कुर्ता सुरुवाल लाउ कि…’ , ‘भातगाउँले टोपी…’ जस्ता बोलका गीतहरू समावेश गरिएका छन । उक्त गीतहरू क्रमश भीम राई, कृष्ण केसी, नरेश भट्टराई, डिम्पल लिम्बु र बसन्त सापकोटाले लेखेका छन् भने गीतमा संगीत क्रमशः स्पन्दन स्वराहाङ राई, बसन्त सापकोटा, हरि लम्साल, शान्तिराम राई, बसन्त सापकोटाको रहेको छ ।
एल्बमलाई ‘उत्तरपूर्व’ संगीत एन्ड सिनेमा प्रालिले बजारमा ल्याएको हो ।
प्रतिक्रिया