बेलायतमा अभिव्यक्ति शृंखला भाग–९

belayat-copyबेलायत, १५ मंसिर । नेपाली प्रतिभा प्रतिष्ठान, आस्फोर्डकेन्टमा ‘अभिव्यक्ति शृंखला भाग–९’ सम्पन्न गरेको छ । साहित्यकार निर्मला राई ‘परिवेश’ लाई एकल मञ्च उपलब्ध गराइएको उक्त कार्यक्रममा स्रष्टा तथा संगीतकार चोक गुरुङद्वारा संगीतबद्ध गरिएका ‘साँचो’ नामक गीति एल्बमको विमोचनसमेत गरिएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका महासचिव साहित्यकार टंक ओनेम (मिजास तेम्वले सञ्चालन गरेको कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि बेलायतका लागि नेपालका राजदूत तथा साहित्यकार डा.दुर्गाबहादुर सुवेदीले कार्यक्रमको उद्घाटन् गरेका थिए ।

साहित्यकार गुरुङले आफूले संगीतबद्ध गरेको गीति एल्बम साँचो को ‘झ्यामझ्याम’ बोलको गीतको म्युजिक भिडियोसमेत कार्यक्रममा प्रदर्शन गरिएको थियो । प्रतिष्ठानका पूर्वअध्यक्ष तथा संस्थाका संरक्षक रक्ष राईले उनलाई खादा ओढाएर सम्मान गरेका थिए । उनलाई वर्तमान अध्यक्ष दयाकृष्ण राईले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा गुरुङले ‘खेलौना होइन म’बोलको मीठो गीत सुनाएका थिए । यसपश्चात प्रतिष्ठानका कोषाध्यक्ष साहित्यकार देवेन्द्र खेरेसले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्दै प्रतिष्ठानले ९ वर्षदेखि गर्दै आएको ‘अभिव्यक्ति शृंखला भाग ९’ सञ्चालन गरेका थिए । यो कार्यक्रमअन्तर्गत प्रतिष्ठनमा आबद्ध भएका स्रष्टाहरूलाई आफ्नो कृति वाचन गर्न मञ्च प्रदान गर्दै आएको छ । यो वर्षको अभिव्यक्ति शृंखलाभाग–९ मा प्रतिष्ठानकी सदस्य स्रष्टा निर्मला ‘परिवेश’ राईलाई मञ्च प्रदान गरिएको थियो । नारी स्रष्टा परिवेशले कविता, गीत र मुक्तक गरी दर्जनौँ सिर्जनाहरू पस्केका थिए ।

कार्यक्रमको अन्तिम चरणतिर प्रतिष्ठानद्वारा व्यवस्था गरिएको जलपान लिइसकेपछि उपस्थित स्रष्टाहरूले अआफ्नो सिर्जनाहरू वाचन गरेका थिए । कविता, गीत मुक्तकहरू वाचनगर्ने स्रष्टाहरू थिए, रक्ष राई, सञ्जीव राई, जानुका राई, भुपिन्द्र घिमिरे, देवेश खरेल, विश्वाश दीप तिगेला र गनेश राई आदि । साहित्यिक सिर्जना वाचनपछि उक्त कार्यक्रमका प्रमुखअतिथि राजदूत सहित्यकार डा.दुर्गाबहादुर सुवेदी

(दुवोसु क्षत्री)ले, बेलायतका स्रष्टाहरू र प्रतिष्ठानलाई गहन र सुन्दर साहित्यिक शैलीमा धन्यवाद र शुभकामना व्यक्त गर्दै भनेका थिए ।

उनले भने, ‘हाम्रापूर्खा बाआमा, दाजुभाइ, दिदीबहिनीहरू नेपालका पहाड, तराई मधेस, गाउँ, वेँशी, नदीनाला सबै छाडेर आए पनि आफ्नो देशका ती सम्पूर्ण भूगोललाई बिर्सन सकेका रहेनछन् ।’ उनले गोर्खालीको इतिहास बोकेर आएका सबै नेपालीले विदेशमा अएर पनि आआफ्नो संस्कार, संस्कृति र परम्परालाई मान्दै आएकोमा खुसी व्यक्त गरे । उनले बेलायतमा गोर्खाली दाजुभाइहरूले बन्दुक र सम्मान मात्र साथमा नभएर कलम पनि लिएर अघि बढेको भन्दै खुसी प्रकट गरेका छन् । प्रमुखअतिथि राजदूत डा. सुवेदीले साहित्यकारद्वय रक्ष राई र गणेश राईका कविताहरू नेपालका समकालीन कविहरूका रचनाभन्दा कमन भएको विचार व्यक्त गरे । उनले आफ्नो सम्पूर्ण कर्तव्य पूरा गर्दै साहित्य, सामाजिक सेवालगायत सबै क्षेत्रमा नेपालीलाई भरपूर सहयोग गर्ने वचन दिएका थिए । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले अध्यक्षता गरेका कार्यक्रममा गोर्खा मेजर गजेन्द्र आदेम्वे विशेष अतिथि थिए ।

यस्तै गरी खोटाङ सेवा समाजका उपाध्यक्ष भूपजीत राई, मेजर राज राई, किरात राई यायोक्खा फकिस्टनका अध्यक्ष शिवधन राई, साहित्यकार भूपेन्द्र घिमिरे, वाङ्मय प्रतिष्ठानका प्रतिनिधि कथाकार जय राई, विनेसा साउथका अध्यक्ष विजय हितान मगर, सोही संस्थाकी महासचिव जानुका राई, सचिव करिश्मा घम, गीतकार सीता शेरचन, टु आर जी आरका क्या. रन्जन बजगाईं, कलाकार संघका उपाध्यक्ष हेमकुमार राई, पूर्वमेजर भवानी पन्त, विनेसा केन्द्रका विश्वास दीप तिगेला, साहित्यकार काशीप्रसाद सुवेदीलगायत विभिन्न संघसंस्थाका थुप्रै व्यक्तित्वहरूको बाक्लो सहभागिता थियो ।

प्रतिक्रिया